२२६ किलो रक्तचन्दन तस्करीको १३ वर्षपछि मुख्य कारोबारी बस्नेत पक्राउ
रक्तचन्दन तस्करीमा १३ वर्षपछि नवीराज बस्नेत पक्राउ
काठमाडौं : १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटनामा संलग्न भएका ठेकेदार नवीराज बस्नेत पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई शुक्रबार राति मेरियट होटलबाट पक्राउ गरेको सीआईबीकी एआईजी उमा चतुर्वेदीले जानकारी दिइन् ।
रक्तचन्दन बरामद भएको घटनामा यसअघि ट्रकका चालक र सहचालकविरुद्ध मुद्दा चलाइएको थियो । उनीहरू जेल चलान भएका थिए र पछि रिहा भइसकेका छन् । बस्नेतको ठेगाना यकिन नभएको भन्दै त्यसबेला उनीविरुद्ध मुद्दा चलाइएको थिएन । ठेगाना खुलेपछि मुद्दा अघि बढाउने गरी अभिलेख राखिएको थियो ।
पछिल्लो समय सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा बस्नेतको ठेगाना खुलेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई अदालतमा उपस्थित गराउन पत्राचार गरेको थियो । त्यसपछि उनी पक्राउ परेका हुन् ।
के थियो घटना ?
१८ चैत २०६९ काठमाडौंको गुह्येश्वरीबाट प्रहरीले २२६ केजी रक्तचन्दन बरामद गर्छ । बा १ ख ५७५९ नम्बरको मिनीट्रकमा बालुवाभित्र लुकाएर गुह्येश्वरीबाट क्षेत्रबाट भक्क्तपुर तर्फ लैजाँदै गरिएको रक्तचन्दन जिल्ला प्रहरी परिसर, काठमाडौंले बरामद गरेको थियो ।
रक्तचन्दनका मालिक थिए, नविनराज बस्नेत । रक्तचन्दनसहित बसचालक सिन्धुलीका भीमबहादुर सुनुवार र सहचालक सर्लाहीका खेमबहादुर सिंह पक्राउ पर्छ । मोटरसाइकलबाट रक्तचन्दन बोकेको मिनीट्रकको अघिपछि गर्दै गइरहेका थिए, रक्तचन्दनका मालिक बस्नेत ।
काठमाडौं प्रहरी परिसर (तत्कालीन महानगरीय प्रहरी परिसर, काठमाडौं) प्रमुख थिए, राजेन्द्र श्रेष्ठ । रक्तचन्दनका मालिक नविनराज बस्नेतलाई जोगाउन खेल हुन्छ । नबिनराज बस्नेत प्रहरीको परिसर प्रमुख राजेन्द्र श्रेष्ठ कहाँ पुग्छन् ।
जिल्ला वन कार्यालयमार्फत सुनुवार, सिंह र नवीन बस्नेतविरुद्ध मुद्दा दायर गर्छ । ९ वैशाख ०७० मा जिल्ला अदालतले मुद्दाको फैसला गर्दै गाडीका चालक र सहचालकलाई जनही ६–६ महिना कैद र तीन लाख ६१ हजार ६ सय रुपैयाँ जरिवाना सुनायो । भाडाको गाडी पनि जफत हुने ठहर गर्यो । रक्तचन्दन तस्करीको घटनामा चालक र सहचालकलाई कैद र जरिवाना भयो । तर प्रहरीले नविनराज बस्नेतको स्थायी ठेगाना नखुलेको प्रतिवेदन लैजान्छ ।
प्रहरीको अनुसन्धानमा बस्नेत आफैले बालुवा ओसार्न भन्दै बालुवाभित्र रक्तचन्दन लुकाएर तस्करीको प्रयास गरेको अनुसन्धानमा खुलेको थियो । तर, उनको स्थायी ठेगाना पत्ता नलागेको भन्दै प्रहरीले योजनाबद्ध रुपमा काठमाडौं महानगरपालिका– १६ बस्ने भनेर अभियोग दर्ता गरायो । जिल्ला अदालतका तत्कालीन न्यायाशीश रमेशराज पोखरेलको इजलासको फैसलामा भनिएको छ, ‘निज नवीन बस्नेतको वास्तविक वतन खुलाई आएमा बाँकी कारबाही हुन सक्ने नै हुँदा निजका हकमा प्रस्तुत मुद्दा जिल्ला अदालत, नियमावली, २०५२ को नियम १९ (क)बमोजिम तामेलीमा राखिएको छ ।’
जिल्ला अदालत नियमावली, २०५२ को नियम १९ (क) को उपनियम (४) मा प्रतिवादीको नाम, थर वा वास्तविक वतन (ठेगाना) स्पष्ट रूपमा खुल्न नसकेको वा पक्ता नलागेको अवस्थामा लगत कट्टा गरी हाललाई मुद्दा तामेलीमा राख्ने प्रक्रियागत व्यवस्था उल्लेख गरिएको छ । पछि निजको वास्तविक वतन वा सुराक पत्ता लागेर आएमा वा फेला परेमा वा अदालतमा हािर/पक्राउ भएमा उक्त तामेलीमा राखिएको मुद्दा वा कारबाहीलाई पुनः जाँगेर कारबाही अगाडि बढाइने गरिन्छ ।
पक्राउ परेका भीमबहादुर र खेमबहादुर दुवैले प्रस्ट रूपमा सो बालुवा ओसार्न कालिञ्चोक सप्लायर्सका साहु नवीन बस्नेत भएको बयान दिएका थिए । बस्नेत त्यतिवेला बालुवाको डिपो चलाउने गर्दथे । चालक भीमबहादुरले बयानमा भनेका छन्, ‘मिति २०६९/१२/१६ गते कालिञ्चोक सप्लायर्सका साहु नवीन बस्नेतले फोन गरी बालुवा लिएर जानुपर्यो भनी बोलाउनु भएको थियो । मैले निजलाई मेरो लाइसेन्स छैन भन्दा निजले सो बालुवा जोरपाटीबाट करिब दुई सय मिटरजति भित्र लाने हो, केही फरक पर्दैन भनेका थिए । गाडी भएको ठाउँमा जाँदा गाडी लोड भइसकेको थियो । म गाडी लिएर नवीन बस्नेत बाइकमा अघि–अघि म पछि–पछि पिछा गर्दै गएँ । बिचबाटोमा प्रहरीले गाडी चेक गर्दा जिल्ला विकासलाई कर तिरेको कागज नभएकाले प्रहरीले गाडीलाई बरामद गर्यो । पर्सिपल्ट मात्र गाडी फिर्ता भयो । सोही गाडी लिएर म गुह्येश्वरी हुँदै गोठाटारतर्फ लागेँं । गुह्येश्वरीमा सिभिलमा रहेका प्रहरीले गाडीमा खोजतलास गर्दा बालुवामुनि लुकाइराखेको रक्तचन्दन भेट्टाए । गाडीमा रक्तचन्दन भएको कुरा मलाई थाहा थिएन । यस अपराधमा मुख्य संलग्नता नवीन बस्नेतको छ । निजले हामीलाई काम लगाउने बहानामा फसाएका हुन् ।’
गाडीधनी रमेश प्रजापतिले पनि कारोबार गर्नेलाई कारबाही हुनुपर्ने बयान गरेका थिए । तर, मुख्य कारोबारीलाई केही नभई उनको गाडी भने जफत भएको थियो । प्रहरी स्रोतका अनुसार त्यतिवेलै बस्नेतको सबै विषय पहिचानसमेत भएको थियो । तर, दबाबका कारण उनलाई पक्राउ नगरी वास्तविक ठेगानासमेत नराखी मुद्दा चलाइएको थियो । त्यसपछि प्रहरी तथा वन कार्यालय दुवैले उनको वतन पत्ता लगाउने प्रयास नै गरेनन् । सहयोगीलाई जेल पठाएको यो मुद्दामा नबिनले महेश बस्नेतको शक्तिमा उन्मुक्ति पाए ।
.gif)

.png)


