इन्टरनेटको शुल्क बढेको छैन, बढी असुले कारबाही हुन्छ : प्राधिकरण
काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पारेको छ । स्वीकृत दरभन्दा बढी शुल्क असुल्ने तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ ।
इन्टरनेट सेवाको शुल्क बढेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि प्राधिकरणले आफ्नो धारणा सार्वजनिक गरेको हो । प्राधिकरणका अनुसार इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट हालसम्म शुल्क वृद्धि गर्ने प्रस्ताव प्राप्त भएको छैन । प्राधिकरणले पनि शुल्क बढाउन कुनै स्वीकृति दिएको छैन ।
प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकले उपभोक्ताबाट लिने शुल्क उचित र मनासिब हुनुपर्ने जनाएको छ । प्रचलित निर्देशिकाअनुसार शुल्क निर्धारण गरी लागू हुने मितिसमेत खुलाएर कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था रहेको उसले स्मरण गराएको छ ।
त्यसैगरी, प्राधिकरणबाट स्वीकृत शुल्क दर सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि छ । पूर्वस्वीकृतिबिना शुल्क वृद्धि गर्ने, स्वीकृत दरभन्दा बढी रकम असुल्ने र उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने कार्य कानुनविपरीत हुने प्राधिकरणले स्पष्ट पारेको छ ।
निर्धारित कानुनी व्यवस्थाको उल्लङ्घन गरी सेवा सञ्चालन गरेको पाइएमा सम्बन्धित प्रदायकमाथि दूरसञ्चार ऐन तथा नियमावलीबमोजिम कारबाही गरिने प्राधिकरणले चेतावनी दिएको छ ।
.gif)

.png)


