ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
काठमाडौं : प्रहरीले विभिन्न जिल्लाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सात जनालाई पक्राउ गरेको छ।
सुनसरीको धरान उपमहानगरपालिका–१७ खोक्लिङका ३१ वर्षीय राजन राई र उनकी श्रीमती ३० वर्षीया इच्छा परियारलाई १७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको छ।
अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको टोलीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ बरामद गरेको हो।
यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलुवापुरका ४१ वर्षीय जितेन्द्र रानालाई २१० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित मंगलबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारेको हो।
त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनाबाट ७ ग्राम २२० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर–४ का ३९ वर्षीय मिनराज गिरीसमेत छन्।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको टोलीले नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको भे १ ज १३७० नम्बरको विद्युतीय गाडी जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको हो। गाडीमा सवार चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
.gif)

.png)


