चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकी महिला पक्राउ
चिनियाँ एजेन्ट बनेर ताइवानी राष्ट्रपतिको छोराको जासुसी गरेको आरोप
अमेरिका : अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले चीनको दर्ता नभएको एजेन्टका रूपमा काम गरेको आरोपमा क्यालिफोर्नियाकी ३४ वर्षीया एक महिलालाई पक्राउ गरेको छ। उनले ताइवानका राष्ट्रपति लाइ चिङ–तेका छोरा र उनको परिवारको निगरानी गरेको आरोप लगाइएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
क्यालिफोर्नियाको इर्विन निवासी वानयिङ ‘हेदर’ झाङले सन् २०२५ मा सियाटल गएर ताइवानी सरकारका एक उच्च अधिकारीका निकट आफन्तको निगरानी गरेको आरोप छ। शनिबार दायर गरिएको संघीय उजुरीअनुसार झाङलाई चिनियाँ अधिकारीहरूले ती आफन्तबारे जानकारी संकलन गर्न र उनीहरूको तस्बिर खिच्न निर्देशन दिएका थिए।
एफबीआईले सामाजिक सञ्जालमार्फत झाङले ताइवानका राष्ट्रपति लाइ चिङ–तेका छोरा र उनको परिवारको निगरानी गरिरहेको जनाएको छ।
चीनको सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीले ताइवानलाई आफ्नो भूभाग मान्दै आएको छ। यद्यपि चीनले ताइवानमाथि कहिल्यै शासन गरेको छैन। बेइजिङले ताइवानलाई मुख्यभूमि चीनसँग एकीकरण गर्ने बताउँदै आएको छ र आवश्यक परे बल प्रयोग गर्नेसमेत अस्वीकार गरेको छैन।
ताइवानको सार्वभौमिकताको पक्षमा वकालत गर्दै आएका राष्ट्रपति लाइप्रति चीन लामो समयदेखि आक्रोशित रहँदै आएको छ। चिनियाँ सरकार तथा सरकारी सञ्चारमाध्यमहरूले उनलाई ‘खतरनाक पृथकतावादी’, ‘समस्या सिर्जना गर्ने व्यक्ति’ र ‘युद्ध भड्काउने’ व्यक्तिका रूपमा चित्रण गर्दै आएका छन्। लाइले भने चीनसँग वार्ताका लागि पटक–पटक प्रस्ताव गर्दै आएका छन्।
एफबीआईका विशेष एजेन्ट केभिन होल्टले दायर गरेको उजुरीअनुसार झाङ र ‘इन्डिभिजुअल–१’ भनेर उल्लेख गरिएको अर्का व्यक्ति सन् २०२५ सेप्टेम्बर १ मा लस भेगासबाट सियाटल पुगेका थिए। त्यसपछि उनीहरू उक्त आफन्तको घरमा पुगेका थिए।
छिमेकीको सुरक्षा क्यामेराबाट प्राप्त दृश्यमा झाङ र अर्का व्यक्ति भाडामा लिइएको कालो एसयूभीमा ती व्यक्तिको घरबाहिर बसेको देखिएको उजुरीमा उल्लेख छ।
परिवार घर फर्किएपछि उनीहरू एसयूभीभित्रबाट उठेर मोबाइल फोन निकाली परिवारका सदस्यतर्फ लक्षित गरी तस्बिर वा भिडियो खिचिरहेको जस्तो देखिएको उजुरीमा उल्लेख छ।
उजुरीमा चिनियाँ सरकारलाई उद्धृत गर्दै भनिएको छ कि ताइवानी उच्च अधिकारीका निकट आफन्तको स्थान, घर र गाडीका तस्बिरलगायत विवरण भविष्यमा चीनले ताइवानका राष्ट्रपतिमाथि दबाब सिर्जना गर्न प्रयोग गर्न सक्ने सम्भावना थियो।
झाङले चिनियाँ सरकारका लागि काम गरिरहेको जानकारी अमेरिकी महान्यायाधिवक्ताको कार्यालयमा अनिवार्य रूपमा दर्ता नगरेको आरोप पनि लगाइएको छ। अमेरिकी अधिकारीहरूका अनुसार विदेशी सरकारका लागि काम गर्दा त्यसबारे जानकारी नदिनु संघीय अपराध हो।
अमेरिकाको केन्द्रीय क्यालिफोर्निया जिल्ला अदालतका प्रथम सहायक अमेरिकी महान्यायाधिवक्ता बिल एस्लीलीका अनुसार झाङले एक सहयोगीसँग समन्वय गरी यात्रा गरेकी थिइन् र पक्राउबाट बच्न विभिन्न तरिका अपनाएकी थिइन्।
झाङलाई आइतबार लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा एफबीआई एजेन्टहरूले नियन्त्रणमा लिएका थिए। उनी सोमबार लस एन्जलसस्थित संघीय अदालतमा प्रारम्भिक सुनुवाइका लागि उपस्थित हुने बताइएको छ।
झाङका तर्फबाट वकिल नियुक्त भएको वा नभएको स्पष्ट भइसकेको छैन। एफबीआई, अमेरिकी न्याय मन्त्रालय र चिनियाँ दूतावाससँग थप जानकारी मागिएको बताइएको छ। ताइवानको राष्ट्रपतिको कार्यालयकी प्रवक्ता करेन कुओले घटनाको निन्दा गर्दै यसलाई ‘सीमापार दमन’को उदाहरण भएको बताएकी छन्।
अमेरिकाले लामो समयदेखि ‘वन चाइना’ नीति अपनाउँदै आएको छ। अमेरिकाले ताइवान चीनको हिस्सा भएको चिनियाँ पक्षको दाबीलाई स्वीकार गरेको भए पनि स्वशासित ताइवानमाथि चिनियाँ कम्युनिस्ट पार्टीको दाबीलाई औपचारिक रूपमा मान्यता दिएको छैन।
.gif)

.png)


