एनपीएलमा डेढ अर्बको कारोबार लक्ष्य
नेपाली क्रिकेटको व्यावसायिक विस्तारमा जोड
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा नेपाली क्रिकेटको व्यावसायिक विस्तारसँगै आर्थिक गतिविधि बढाउने लक्ष्य राखिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको एक महिनाको अवधिमा टोली सञ्चालकको खर्चसमेत जोड्दा करिब एक अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरेको छ।
आइतबार त्रिवि क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदम खड्काले प्रायोजन, टिकट बिक्री र अन्य साझेदारीबाट मात्रै ७० देखि ७५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान सुनाए।
उनले यस संस्करणमा मुख्य प्रायोजकबाट करिब २० करोड रुपैयाँ प्राप्त भएको छ।
प्रतियोगिताको आर्थिक आकार बढेसँगै पुरस्कार राशि पनि वृद्धि गरिएको छ। सोमबारदेखि सुरु हुने तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउनेछ।
उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ।
क्यानका अनुसार यसपटक आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता पाएको छ भने पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रयोग गरिनेछ।
यी व्यवस्थाले प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने क्यानको प्रयासलाई थप बल पुर्याउने अपेक्षा गरिएको छ।
क्यानका सचिव पारस खड्काले विदेशी खेलाडीलाई सहभागी गराउन सम्बन्धित क्रिकेट बोर्डबाट अनापत्ति प्रमाणपत्र लिनुपर्ने भएकाले आवश्यक समन्वय भइरहेको बताए।
विदेशी खेलाडीको सहभागिता प्रतियोगिताको प्रतिस्पर्धात्मक स्तर र दर्शक आकर्षणका दृष्टिले महत्त्वपूर्ण रहनेछ।
लिग चरणका खेल नोभेम्बर १५ मा सकिएपछि अर्को चरणमा छनोट हुन नसकेका चार टोलीका खेलाडी समेटेर ‘राइजिङ स्टार्स’ टोली बनाउने योजना पनि क्यानले सार्वजनिक गरेको छ।
सचिव खड्काका अनुसार उक्त टोलीलाई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको अभ्यास तथा खेलमा सहभागी गराइनेछ।
एनपीएलको बढ्दो कारोबार र पुरस्कार राशिले नेपाली क्रिकेटमा लगानी विस्तारको संकेत गरे पनि यसको दीर्घकालीन प्रभाव भने आम्दानीको पारदर्शिता, खेलाडीको विकास र प्रतियोगिताबाट नेपाली क्रिकेटले प्राप्त गर्ने प्रत्यक्ष लाभमा निर्भर रहनेछ।
.gif)

.png)



