प्रधानमन्त्रीले कांग्रेसलाई किन भने ‘नयाँ पार्टी’?

खुलामञ्च राम्रो बनाएकैले नयाँ पार्टीले त्यहीँबाट गाली गर्न पायो : प्रधानमन्त्री


२०८३ असोज १८ आइतबार २२:४८ बजे

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहको संसद्मा न्यून उपस्थितिमाथि प्रश्न उठाए। त्यसको केही घण्टापछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत कांग्रेसलाई ‘नयाँ पार्टी’ भनेर व्यङ्ग्य गरे।

थापाले आइतबार साँझ काठमाडौंको खुलामञ्चबाट प्रधानमन्त्री संसद्मा सम्मानपूर्वक उपस्थित हुनुपर्ने धारणा राखेका थिए। आफूलाई प्रधानमन्त्री बनाउने सांसद र जनताप्रति सम्मान देखाउँदै प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने उनको भनाइ थियो। थापाको उक्त अभिव्यक्तिपछि शाहले फेसबुकमा लेखे, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्।’

कांग्रेसको इतिहास र परिचय हेर्दा शाहको ‘नयाँ पार्टी’ भन्ने शब्द आफैंमा अस्वाभाविक सुनिन्छ।  कांग्रेस मुलुकको सबैभन्दा पुरानो राजनीतिक दल हो। त्यसैले शाहले कांग्रेसलाई ‘नयाँ’ भनेको के अर्थमा हो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ। तर शाहको टिप्पणीलाई अहिले कांग्रेसभित्र चलिरहेको नेतृत्व र आधिकारिकताको विवादसँग जोडेर हेर्ने अर्को कोण पनि देखिन्छ।

कांग्रेसमा गगन थापा र शेरबहादुर देउवा पक्षबीचको विवाद अहिले अदालतसम्म पुगेको छ। थापा नेतृत्वको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा पक्ष त्यसविरुद्ध सर्वोच्च अदालत पुगेको थियो। सर्वोच्चले थापा पक्षको पक्षमा गरेको अघिल्लो फैसलाविरुद्ध देउवा पक्षले पुनरवलोकन मागेपछि अदालतले त्यसलाई पुनरवलोकनका लागि अनुमति दिएको अवस्था छ।

यसको अर्थ कांग्रेसको नेतृत्वसम्बन्धी विवाद अझै पूर्ण रूपमा कानुनी रूपमा टुंगिएको छैन। थापा पक्षले आफूलाई वैधानिक कांग्रेसको नेतृत्व मान्दै १५औँ महाधिवेशन अघि बढाइरहेको छ भने देउवा पक्षले त्यसलाई अस्वीकार गर्दै आएको छ। यही पृष्ठभूमिमा शाहको ‘नयाँ पार्टी’ भन्ने टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा अर्को प्रश्न उठ्न थालेको छ, 'प्रधानमन्त्रीले व्यङ्ग्यमा कांग्रेसलाई ‘नयाँ पार्टी’ भनेका हुन् कि अहिलेको कांग्रेसको कानुनी अवस्थातर्फ संकेत गरेका हुन् ?'

किनकि कांग्रेसको इतिहास पुरानो भए पनि अहिले पार्टीको आधिकारिक नेतृत्व र महाधिवेशनको वैधानिकतामाथि नै अदालतमा प्रश्न विचाराधीन छ। अझ महत्वपूर्ण प्रश्न त त्यसपछि आउँछ, अन्ततः अदालतले आधिकारिक कांग्रेस कसलाई मान्यता दिनेछ? गगन थापालाई कि शेरबहादुर देउवालाई?

यसको उत्तर अहिले राजनीतिक मञ्चले होइन, सर्वोच्च अदालतको अन्तिम फैसलाले दिनेछ। त्यसैले खुलामञ्चबाट सुरु भएको थापा–शाहको राजनीतिक जुहारी अहिले सामाजिक सञ्जालको व्यङ्ग्यमा मात्र सीमित छैन। ‘नयाँ पार्टी’ भन्ने शाहको एक वाक्यले कांग्रेसभित्रको पुरानो–नयाँ बहससँगै अर्को कानुनी प्रश्न पनि सतहमा ल्याइदिएको छ, कांग्रेस पुरानो पार्टी हो, तर आधिकारिक कांग्रेस अहिले कसको?

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७