कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले बनेको पार्टी हो : आरेन राई
काठमाडौं : श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेस हल्लाका भरमा नभई लामो संघर्ष, त्याग र योगदानबाट स्थापित भएको पार्टी भएको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनामा कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। कांग्रेसको इतिहास अध्ययन गर्दा पार्टी हल्लाका भरमा स्थापित नभएको स्पष्ट हुने उनको भनाइ थियो।
‘नेपाली कांग्रेसको इतिहास धेरै पढ्यौँ र हेर्यौँ। नेपाली कांग्रेस वास्तवमा हल्लाद्वारा स्थापित भएको पार्टी होइन,’ उनले भने।
कांग्रेसको इतिहासमा धेरै नेता तथा कार्यकर्ताले व्यक्तिगत सपना त्यागेर राष्ट्र निर्माणमा योगदान गरेको राईले बताए। उनीहरूको त्याग र संघर्षकै आधारमा कांग्रेस स्थापित भएको उनको भनाइ थियो।
‘आफ्ना निजी सपना मारेर, राष्ट्र निर्माणका निम्ति सपना त्यागेर, त्यो सपना देखेर निर्माण भएको पार्टी हो,’ राईले भने।
उनले कांग्रेसले आगामी दिनमा सत्तामा कति समय रहने भन्नेभन्दा जनताको पक्षमा कति राम्रो काम गर्न सकिन्छ भन्ने विषयलाई प्राथमिकता दिनुपर्ने बताए।
जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्न सके मात्रै लोकतन्त्र र राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने राईको भनाइ थियो।
.gif)

.png)


