आजदेखि कांग्रेस महाधिवेशन : ७ हजार ५ सय प्रतिनिधि सहभागि हुने


२०८३ असोज १८ आइतबार ०७:४४ बजे

काठमाडौं : नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनमा सहभागी हुन देशभरका साथै विदेशस्थित जनसम्पर्क समितिबाट करिब ७ हजार ५ सय प्रतिनिधि काठमाडौं आएका छन्।

महाधिवेशनको उद्घाटन आइतबार दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ। महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ।

महाधिवेशनमा सहभागी प्रतिनिधिका सवारीसाधन व्यवस्थापनका लागि विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ।

कांग्रेस केन्द्रीय सदस्य तथा महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरका अनुसार ट्राफिक प्रहरीसँगको समन्वयमा धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान वे सडकको एकतर्फी लेन तथा दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ।

यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि सवारी पार्किङ गर्न सकिने व्यवस्था मिलाइएको छ।

निजी कार तथा मोटरसाइकलका लागि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र पुरानो बसपार्क क्षेत्र तोकिएको छ भने ठूला बसका लागि माइतीघरदेखि भद्रकालीसम्मको सडकको एक लेन प्रयोग गरिनेछ।

कांग्रेसको कार्यतालिकाअनुसार असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गर्नेछन्।

प्रतिवेदनमाथि भूगोलका आधारमा प्रतिनिधिलाई समूहमा विभाजन गरी तीनवटा हलमा छलफल गराउने व्यवस्था गरिएको छ। प्रतिनिधिले डिजिटल बोर्डमार्फत प्रतिवेदन हेर्न तथा प्रस्तुतिसमेत सुन्न सक्ने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ।

निर्वाचन कार्यक्रमअनुसार असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ। मनोनयन राष्ट्रिय सभागृहमा हुनेछ। आवश्यकताअनुसार निर्वाचन कार्यक्रम परिमार्जन हुन सक्ने निर्वाचन समितिले जनाएको छ।

यसैबीच, कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा उम्मेदवारी दिने नेताहरूका लागि विधानमा रहेको निर्वाचनसम्बन्धी व्यवस्थाबारे स्पष्ट पारेको छ।

समितिले शनिबार जारी गरेको विज्ञप्तिमार्फत १५औँ महाधिवेशनमा केन्द्रीय तहको कुनै पनि पदमा उम्मेदवारी दिने व्यक्ति त्यसपछि हुने प्रदेश तथा जिल्ला कार्यसमितिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने जनाएको हो।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिअनुसार कांग्रेसको विधान २०१७ (संशोधनसहित) मा कुनै पनि तहको अधिवेशनमा प्रतिस्पर्धा गरिसकेको व्यक्ति सोही अवधिमा आफूभन्दा माथिल्लो वा तल्लो तहको अर्को कार्यसमितिको पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था छ।

यसअनुसार केन्द्रीय कार्यसमितिको कुनै पनि पदमा उम्मेदवारी दिने नेता तथा कार्यकर्ता त्यसपछि हुने प्रदेश वा जिल्ला कार्यसमितिको निर्वाचनमा उम्मेदवार बन्न पाउने छैनन्।

पदेन महाधिवेशन प्रतिनिधि तथा भ्रातृ संघ र शुभेच्छुक संस्थाबाट प्रतिनिधित्व गर्ने पदेन प्रतिनिधिलाई पनि केन्द्रीय कार्यसमितिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने व्यवस्था रहेको समितिले जनाएको छ।

कांग्रेसले यसपटकको महाधिवेशन ‘ऊर्जाशील कांग्रेस, नयाँ सङ्कल्प’ भन्ने मूल नारासहित आयोजना गरेको छ।

महाधिवेशनमा नयाँ सङ्कल्प र त्यसको कार्यान्वयनको खाकामाथि केन्द्रित भएर छलफल हुने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको आगामी राजनीतिक तथा संगठनात्मक दिशा तय गर्ने कांग्रेसको भनाइ छ।

दोस्रो विशेष महाधिवेशनपछि संगठनका विभिन्न तहमा नयाँ पुस्ताको सहभागिता बढेको छ र सो प्रक्रियाबाट ४४ हजार युवा विभिन्न जिम्मेवारीमा आएका छन्।

यसपटक ३५ वर्षमुनिका युवा, लोकतन्त्र सेनानी, श्रमिक तथा पेसागत समूह र विदेशमा रहेका नेपालीलाई पहिलोपटक केन्द्रीय समितिमा प्रतिनिधित्वको अवसर दिने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ।

महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भइसकेको छ। प्रतिनिधिले सहभागिता दर्ताबापत ३ हजार ५ सय रुपैयाँ बुझाउनुपर्नेछ। आवास व्यवस्थापनका लागि प्रत्येक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक–एक जना संयोजक तोकिएको छ।

प्रतिनिधिलाई आवाससम्बन्धी जानकारी ह्वाट्सएप, एआई नम्बर तथा एसएमएसमार्फत उपलब्ध गराउने व्यवस्था गरिएको छ। महाधिवेशनका गतिविधिबारे सूचना सम्प्रेषणका लागि खुलामञ्चमा मिडिया सेन्टरसमेत स्थापना गरिने कांग्रेसले जनाएको छ।

ऐतिहासिक राजनीतिक स्थलका रूपमा रहेको खुलामञ्चमा महाधिवेशन आयोजना गरिनुलाई कांग्रेसले विशेष महत्त्व दिएको छ।

कांग्रेस संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले निर्वासनबाट स्वदेश फर्किएपछि पहिलो सार्वजनिक सम्बोधन गरेको स्थलका रूपमा खुलामञ्चलाई लिइन्छ। यही स्थलबाट कांग्रेसका अर्का संस्थापक नेता गणेशमान सिंहले २०४६ सालको जनआन्दोलनको सफलताको उद्घोष गरेका थिए।

महाधिवेशनबाट कांग्रेसले आगामी नेतृत्व चयनसँगै पार्टीको राजनीतिक, आर्थिक तथा संगठनात्मक दिशासमेत तय गर्ने अपेक्षा गरिएको छ। कांग्रेसले बीपी कोइरालाको विचारलाई समृद्धिको वैचारिक आधार बनाउँदै नयाँ राजनीतिक तथा आर्थिक एजेन्डा अघि बढाउने जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७