राष्ट्रसङ्घमा प्रधानमन्त्रीको सम्बोधन ऐतिहासिक : परराष्ट्रमन्त्री खनाल


२०८३ असोज १६ शुक्रबार १५:०४ बजे
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालले भोगिरहेको जलवायु संकट र जलवायु न्यायको विषयलाई सशक्त रूपमा उठाएको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री शाहको अमेरिका भ्रमण तथा राष्ट्रसङ्घ महासभामा नेपालको सहभागिताबारे जानकारी दिँदै मन्त्री खनालले भोटेकोशी बाढीलाई जलवायु परिवर्तनका गम्भीर प्रभावमध्ये एकका रूपमा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिएको बताए।

प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्दै नेपालजस्ता मुलुकले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि त्यसको गम्भीर असर भोगिरहेको विषय उठाएका थिए। उनले जलवायु वित्तका संयन्त्र सहज बनाउन तथा जलवायु संकट सामना गर्न अन्तर्राष्ट्रिय समुदायले साझा जिम्मेवारीका साथ अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

विशेषगरी हिमालय क्षेत्रमा हिमनदी पग्लिँदा बढिरहेको हिमपहिरो, बाढी तथा पहिरोको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायलाई सचेत गराउँदै शाहले पूर्वसूचना प्रणालीको विकास र सीमापार समन्वयलाई प्रभावकारी बनाउनुपर्ने बताएका थिए।

मन्त्री खनालका अनुसार महासभाका क्रममा प्रधानमन्त्री साह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्तासमेत भएको थियो। भेटमा गुटेरेसले भोटेकोशी विपद्प्रति समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका मुद्दामा नेपालप्रति ऐक्यबद्धता जनाएका थिए।

भेटका क्रममा अति कम विकसित मुलुकको सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्ने विषयमा समेत छलफल भएको मन्त्री खनालले जानकारी दिए।

अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री साहले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग पनि द्विपक्षीय हितका विषयमा छलफल गरेका थिए।

मन्त्री खनालले भ्रमणका क्रममा आफूले समेत विभिन्न ८० वटा कार्यक्रम तथा द्विपक्षीय बैठकमा सहभागिता जनाएको जानकारी दिए। उनले नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायबाट थप सहयोगको अपेक्षा गरिएको बताए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७