विपद् व्यवस्थापनमा सम्झौता गर्दैनौँ ढुक्क हुनुस् : प्रधानमन्त्री शाह
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले संघ, प्रदेश र स्थानीय सरकारबीचको आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापनको काम निरन्तर भइरहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले सरकारले कुनै सम्झौता नगरी विपद् व्यवस्थापनमा निरन्तर काम गरिरहेको बताएका हुन्।
बैठकमा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको समेत सहभागिता थियो। मुख्यमन्त्रीहरूलाई लक्षित गर्दै प्रधानमन्त्री शाहले उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गरेर विपद् व्यवस्थापनको काम चाँडोभन्दा चाँडो सम्पन्न गर्न सरकार लागिपरेको बताए।
‘हामीले उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौँ', उनले भने 'त्यसैले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्दछु।’
प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली, गण्डकीलगायत विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको अध्ययनसँगै व्यवस्थापनको काम पनि भइरहेको बताए। उनले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउने तयारी भइरहेको जानकारी दिए।
हिमपहिरोको जोखिम न्यूनीकरणका लागि पनि सरकारले आवश्यक काम अघि बढाइरहेको प्रधानमन्त्री शाहको भनाइ थियो।
विपद् व्यवस्थापनका क्रममा आफ्नो ज्यान जोखिममा राखेर खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, राजनीतिक दलका प्रतिनिधिलगायत सबैप्रति प्रधानमन्त्री शाहले कृतज्ञता व्यक्त गरे।
.gif)

.png)


