शब्द सम्पादन गर्ने सहमतिपछि टुंगियो खेम सेन्चुरीको गीत विवाद
काठमाडौं : गायक खेम सेन्चुरी आफ्नो पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’ मा प्रयोग भएका विवादित शब्द हटाउन सहमत भएका छन्।
बुधबार साइबर ब्युरोको रोहबरमा सेन्चुरी र हिन्दुवादी समूहका प्रतिनिधिबीच भएको छलफलमा गीत सम्पादन गर्ने लिखित सहमति भएको हो।
दुवै पक्षबीच डेढ घण्टाभन्दा बढी छलफल भएको थियो। छलफलपछि सेन्चुरीले विवादित शब्द हटाउने सहमति जनाएसँगै विवाद टुंगिएको साइबर ब्युरोका प्रवक्ता एसपी दिलीप गिरीले जानकारी दिए।
‘दुवै पक्षबीच करिब डेढ घण्टाभन्दा बढी छलफल भएको थियो। गायक सेन्चुरीले आफ्नो गीत सम्पादन गर्ने सहमति जनाएपछि विवाद मिलेको हो,’ गिरीले भने।
करिब एक महिनाअघि सार्वजनिक भएको उक्त गीतविरुद्ध बाहुन समुदायलाई होच्याउने शब्द प्रयोग गरिएको भन्दै हिन्दुवादी अभियन्ताहरूले साइबर ब्युरोमा उजुरी दिएका थिए।
उजुरीपछि ब्युरोले मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। पहिलो दिन निष्कर्ष ननिस्किएपछि बुधबार पुनः छलफल गरिएको थियो।
सहमति अनुसार सेन्चुरीले गीतमा रहेको ‘खान्छौ कि खान्नौ बंगुरको मासु, लौ खाऊ न त सुंगुरको मासु’ भन्ने शब्द हटाउने भएका छन्। गोधुली क्रियसन प्रालिले बजारमा ल्याएको गीतमा सेन्चुरीसँगै गायिका दीपिका बयम्बु मगरको पनि स्वर रहेको छ।
गीत र भिडियोले बाहुन समुदायलाई होच्याएको तथा सामाजिक सद्भावमा असर पार्न खोजेको आरोप लगाउँदै अभियन्ताहरूले उजुरी दिएका थिए। सहमतिपछि उक्त विवाद तत्कालका लागि टुंगिएको साइबर ब्युरोले जनाएको छ।
.gif)

.png)


