अचानक अस्पताल भर्ना भएका गायक खेम सेन्चुरीको कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौं । विदेश उड्नै लाग्दा अचानक विरामी भएर अस्पताल भर्ना भएका लोकदोहोरी गायक खेम सेन्चुरीको स्वास्थ्यमा सुधार आएको छ । बिहीबार अचानक स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा सुधार आएको उनी निकट शम्भु कुँवरले जनाएका छन् ।
उनका अनुसार परीक्षणका क्रममा खेमको कोखामा पत्थरी (स्टोन) देखिएको छ । ‘अहिले उहाँको स्वास्थ अवस्था राम्रो छ । परीक्षण गर्दा उहाँको कोखामा पत्थरी देखिएको छ । सुरुमा अपरेशन गर्नुपर्ने भनिएको थियो । तर, अहिले नपर्ने भयो । सकेसम्म आज नै डिस्चार्ज हुने कुरा छ,’ उनले सुनाए ।
खेम बिहीबार एक महिनाको सांगीतिक यात्राका लागि क्यानडा उड्न लागेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्री प्रतीक्षालयमा रहँदा अचानक पेट दुःखेपछि उनलाई सिनामंगलस्थित केएमसी अस्पताल लगेर भर्ना गरिएको थियो । उनको क्यानडासहित इजरायल र अस्ट्रेलियामा पनि सांगीतिक प्रस्तुतिसम्बन्धी कार्यक्रम तय थियो । उनी अहिले प्रसारण भैरहेको ‘भ्वाइस किड्स’का कोच र ब्यस्त संगीतकार पनि हुन् ।