हिम्लुङको हिमपहिरोमा बेपत्ता दुई जनाको शव भेटियो

आठ जना अझै सम्पर्कविहीन


२०८३ असोज ११ आइतबार २१:०२ बजे

मनाङ : मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परी सम्पर्कविहीन भएकामध्ये दुई जनाको शव फेला परेको छ।

आइतबार बिहान लगातारको वर्षा र भारी हिमपातपछि आधार शिविर क्षेत्रमा ठूलो हिमपहिरो गएको थियो। हिमपहिरोले आधार शिविरमा रहेका टेन्टहरू पुरिएपछि त्यहाँ रहेका आरोही तथा सहयोगी कर्मचारीसँग सम्पर्क टुटेको थियो।

घटनापछि सुरक्षाकर्मी तथा सम्बन्धित निकायले सम्पर्कविहीनको खोजी तथा उद्धार प्रयास थालेका थिए। सशस्त्र प्रहरीका अनुसार आधार शिविरमा रहेका २२ जनामध्ये १२ जना आइतबार फु गाउँमा सम्पर्कमा आएका छन्।

अझै आठ जना सम्पर्कविहीन रहेको जनाइएको छ। यसअघि सम्पर्कविहीन रहेका व्यक्तिहरूको अवस्थाबारे स्पष्ट जानकारी नहुँदा उद्धार टोलीले खोजीलाई निरन्तरता दिएको छ।

साँझ ६ः१५ बजेको अद्यावधिक विवरणअनुसार कैलाश हेलिकप्टरमार्फत दुई जनाको शव प्रादेशिक अस्पताल मनाङमा ल्याएर राखिएको छ। फेला परेका शवको पहिचान भने खुल्न बाँकी रहेको छ।

भारी हिमपात र लगातारको वर्षाका कारण हिम्लुङ हिमालको आधार शिविर क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। हिमपहिरो प्रभावित क्षेत्रमा अझै जोखिम कायम रहेकाले सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि मौसम र भौगोलिक अवस्थालाई ध्यानमा राखेर प्रयास भइरहेको छ।

आधार शिविरमा रहेका आरोही तथा सहयोगीमध्ये केही सम्पर्कमा आए पनि अझै आठ जना सम्पर्कविहीन रहेकाले घटनाको पूर्ण विवरण आउन बाँकी छ। प्रशासन तथा सुरक्षा निकायले सम्पर्कविहीनको अवस्थाबारे थप विवरण संकलन गरिरहेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७