राइनोज क्रुज नारायणी पुलको पिलरमा अड्कियो, हटाउने उपाय खोजिँदै


२०८३ असोज ११ आइतबार २०:५२ बजे

काठमाडौं : नारायणी नदीमा आएको भीषण बाढीका कारण 'राइनोज क्रुजसिप' बगाएको छ। बगाएको राइनोज नारायण नदीको पुलमा गएर अड्किएको छ। 

बाढीले बगाएको ठूलो आकारको ‘राइनोज क्रुजसिप’ नारायणी नदीमाथिको पुलमा आएर अड्किएपछि पुलको सुरक्षामाथि जोखिम बढेको छ। 

क्रुजसिप पुलको पिलरमा ठोक्किएर अड्किएपछि सम्भावित क्षति रोक्न चितवनको नारायणगढ र नवलपुरको गैँडाकोट दुवैतर्फबाट पुलमा सवारीसाधन तथा पैदलयात्रीको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

नारायणी पुल पूर्व–पश्चिम राजमार्गको महत्त्वपूर्ण सडक जोड्ने स्थान हो। यातायात रोकिँदा दुवैतर्फ सयौँ सवारीसाधन तथा यात्रु बीचबाटोमै रोकिएका छन्। 

पुलमा क्रुज अड्किएपछि पुलको संरचनामा थप क्षति पुग्न सक्ने आशंकाका कारण प्रशासनले तत्काल आवागमन बन्द गरेर सुरक्षा सतर्कता बढाएको हो।

क्रुजसिप ठूलो आकारको भएकाले त्यसलाई कसरी सुरक्षित रूपमा हटाउने भन्ने विषयमा प्रशासन र प्राविधिक टोलीबीच छलफल भइरहेको छ। 

तीव्र बहावका बीच पुलको पिलरमा अड्किएको क्रुजलाई सामान्य उपकरणबाट हटाउन कठिन देखिएको छ।

क्रुजलाई तानेर बाहिर निकाल्ने वा काटेर टुक्रा–टुक्रा पारी हटाउने विकल्पबारे छलफल भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। 

‘क्रुजसिप निकै ठूलो भएकाले यसलाई क्रेन वा अन्य प्रविधि प्रयोग गरेर तानेर निकाल्न कतिको सम्भव हुन्छ भनेर प्राविधिकहरूसँग छलफल भइरहेको छ,’ उनले भने, ‘यदि तानेर निकाल्न असम्भव देखिएमा काटेर हटाउने विकल्पमा पनि विचार भइरहेको छ।’

प्रशासनले क्रुज हटाउने विषयमा प्राविधिक टोलीसँग परामर्श गरिरहेको छ। सम्भावित क्षतिलाई रोक्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसमेत परिचालन गरिएको छ। प्राविधिक टोलीको अन्तिम निष्कर्ष आएपछि मात्रै क्रुज हटाउने विधि तय गरिने जनाइएको छ।

६० टन तौल, ९५ फिट लामो
क्रुजसिपको तौल करिब ६० टन रहेको राइनोज क्रुजसिपका निर्देशक दीपक ढुङ्गेलले जानकारी दिए। यसको लम्बाइ ९५ फिट र चौडाइ २१ फिट रहेको उनले बताए। 

ठूलो आकारको भएकाले क्रुजलाई फलाम काटेर टुक्रा–टुक्रा पार्दै हटाउनसमेत सहज नहुने उनको भनाइ छ। ढुङ्गेलले क्रुजसिपलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै सुरक्षित रूपमा बाँधेर राखिएको दाबी समेत गरेका छन्। 

क्रुजलाई सुरक्षाका लागि २० एमएमका दुईवटा टु–चेन डोरी तथा अन्तर्राष्ट्रिय अभ्यासअनुसारका अन्य उपाय प्रयोग गरेर बाँधिएको उनले बताए।

तर, प्राकृतिक विपत्तिका कारण नारायणी नदीमा आएको अत्यधिक पानीको बहाव थेग्न नसकेपछि क्रुजसिप बगेको उनको भनाई छ।

अहिले क्रुजसिपलाई एक्साभेटर र क्रेनको प्रयोगबाट किनारतर्फ तान्ने विषयमा छलफल भइरहेको छ। क्रुजसिप किनारपट्टि पल्टिएको अवस्थामा रहेकाले पानीको बहाव घटेपछि तत्काल थप ठूलो जोखिम नहुने उनको दाबी छ।

‘क्रुजसिपलाई काट्नुको सट्टा यसलाई पनि जोगाउने र नजिकैको पुललाई पनि क्षति हुन नदिने गरी क्रेन र एक्साभेटरको सहायताले किनारमा तान्नु उपयुक्त हुन्छ,’ ढुङ्गेलले भने।

उनले आफूहरू क्रुजसिप परियोजनाका प्रवर्द्धक तथा इनिसिएटर मात्र भएकाले प्राकृतिक विपत्तिको यस्तो अवस्थामा राज्यका निकायबाट पनि सहयोग आवश्यक रहेको बताए।

यसैबीच नारायणी नदीमा व्यावसायिक प्रयोजनका लागि सञ्चालन गरिएको यति ठूलो पानीजहाज बाढीले बगाएर पुलसम्म पुगेपछि यसको सुरक्षाका लागि अपनाइएको व्यवस्थामाथि पनि प्रश्न उठेको छ।
विशेषगरी नदीमा राखिएको ६० टनको संरचनालाई ठूलो बाढी आउन सक्ने अवस्थामा कसरी सुरक्षित राख्ने र बाढी आएपछि तत्काल कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्थानीय प्रशासनले चासो देखाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७