अनलाइन सट्टेबाजीको आशंकामा कोहलपुरबाट ४८ जना नियन्त्रणमा


२०८३ असोज ८ बिहीबार ०८:३७ बजे

बाँके : बाँकेको कोहलपुरस्थित एक होटलबाट प्रहरीले अनलाइन सट्टेबाजीमा संलग्न रहेको आशंकामा ४८ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुर नगरपालिका–११ स्थित होटल म्याक्समा विशेष सूचनाका आधारमा छापा मार्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो। 

सुरुमा ४० जना भारतीय र दुई जना नेपाली गरी ४२ जना पक्राउ परेका थिए। छापा मार्ने क्रममा भागेर होटलका कोठामा लुकेका थप ६ जनालाई समेत नियन्त्रणमा लिएपछि पक्राउ पर्नेको संख्या ४८ पुगेको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएकाहरू अनलाइन बेट गेममार्फत सट्टेबाजी तथा ठगीजन्य गतिविधिमा संलग्न रहेको आशंका गरिएको प्रहरीले जानकारी दिएको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेका इन्स्पेक्टर रमेश विष्टको नेतृत्वमा खटिएको टोलीले होटलमा छापा मार्दा २८ थान ल्यापटप र ७८ थान मोबाइल फोनसहित विभिन्न विद्युतीय उपकरण बरामद गरेको छ। प्रहरीले होटलसमेत सिल गरी अनुसन्धान अघि बढाएको छ।

बरामद विद्युतीय उपकरणमा रहेको डाटा परीक्षणका लागि प्रहरीको आईटी विशेषज्ञ टोलीले काम सुरु गरेको छ। डाटा विश्लेषणपछि गिरोहले गरेको कारोबार, रकमको विवरण, सम्पर्कमा रहेका व्यक्ति तथा उनीहरूको नेटवर्कबारे थप तथ्य खुल्ने प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतित सिंह राठोरले विशेष सूचनाका आधारमा होटलमा छापा मारिएको र ठूलो संख्यामा मानिस तथा विद्युतीय उपकरण नियन्त्रणमा लिइएको जानकारी दिए।

प्रहरीले उक्त समूहको कनेक्सन अन्य स्थानसम्म रहेको हुन सक्ने भन्दै अनुसन्धान विस्तार गरेको छ। काठमाडौंमा भएको यस्तै प्रकृतिको कारबाहीसँग घटनाको सम्बन्ध छ कि छैन भन्ने विषयलाई समेत अनुसन्धानको दायरामा राखिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूविरुद्ध अनलाइन सट्टेबाजीसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको छ। बरामद मोबाइल, ल्यापटप तथा अन्य उपकरणको प्राविधिक परीक्षणपछि गिरोहले कति रकमको कारोबार गरेको थियो र यसको नेटवर्क कहाँसम्म फैलिएको थियो भन्ने थप खुल्ने प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७