५८ विदेशी पक्राउ, भिजिट भिसामा आएर यौनकर्मीदेखि अनलाइन सट्टेबाजीसम्म


२०८३ असोज ७ बुधबार १२:४८ बजे
फाइल फोटो

काठमाडौं : केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौं उपत्यकामा चलाएको स्वीप अपरेशनका क्रममा ५८ जना विदेशी नागरिक पक्राउ गरेको छ। सीआईबीका अनुसार पक्राउ पर्नेमा भिसा अवधि नाघेका तथा नेपाल प्रवेश गर्दा उल्लेख गरिएको प्रयोजनभन्दा फरक गतिविधिमा संलग्न चीन, लाओस, भियतनाम र बङ्गलादेशका नागरिक छन्।

सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार एक प्रयोजनका लागि नेपाल प्रवेश गरेका तर अन्य गतिविधिमा संलग्न विदेशी नागरिकमाथि कारबाहीका लागि अनुसन्धान अघि बढाइएको हो। पक्राउ पर्नेमा व्यावसायिक यौनकर्ममा संलग्न रहेको आरोप लागेका महिलादेखि विभिन्न क्षेत्रमा मजदुरी गरिरहेका व्यक्तिसम्म छन्।

पक्राउ परेकामध्ये जिल्ला प्रहरी परिसर काठमाडौंले भिसा अवधि सकिएका बङ्गलादेशका चार र चीनका एक नागरिकलाई अध्यागमन कार्यालयमा बुझाएको छ। बङ्गलादेशका नागरिकहरू भिजिट भिसामा नेपाल आएर गार्मेन्ट उद्योगमा मजदुरी गरिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। चिनियाँ नागरिक भने भिसा अवधि सकिएपछि पनि अनलाइन सट्टेबाजीमा संलग्न रहेको प्रहरीको दाबी छ।

लाओस र भियतनामका केही महिला भने ठमेल र दरबारमार्ग क्षेत्रमा व्यावसायिक यौन गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरूले विभिन्न नाइट क्लब, पब तथा बारलाई सम्पर्कस्थल बनाएर स्वदेशी तथा विदेशी ग्राहकसँग रकम लिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेकामध्ये ४१ जना दरबारमार्ग प्रहरी वृत्त र १७ जना लैनचौर प्रहरीको हिरासतमा छन्। उनीहरूमाथि सीआईबी, जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र मानव बेचबिखन अनुसन्धान ब्यूरोले संयुक्त रूपमा अनुसन्धान गरिरहेका छन्।

काठमाडौं उपत्यकामा अवैधानिक रूपमा बसोबास गरिरहेका विदेशी नागरिक यौन तथा अन्य गैरकानुनी आर्थिक गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा अपरेशन सञ्चालन गरिएको एआईजी चतुर्वेदीले जानकारी दिए। उनले यस्ता गतिविधिमा संलग्न अन्य विदेशी नागरिकको खोजी तथा अनुसन्धानसमेत जारी रहने बताएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७