भोटेकोशी बाढीको १७औं दिनः सेनाद्वारा ३० जनाको हवाई उद्धार
काठमाडौं : भोटेकोशी बाढीको १७औँ दिन आज। बाढीका कारण हराइरहेका तथा प्रभावितमध्ये नेपाली सेनाले शुक्रबार ३० जनाको हवाई उद्धार गरेको छ। यससँगै सेनाले हालसम्म उद्धार गरेका व्यक्तिको संख्या ४ हजार १३७ पुगेको सैनिक मुख्यालयले जनाएको छ।
सेनाका अनुसार रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा कम्पोजिट क्विक रियाक्सन टिम तथा विदेशी टोलीसहित संयुक्त रूपमा खोज तथा उद्धार जारी छ। लाङटाङ हाइड्रोमा सुरुङभित्र खोजी भइरहेको छ भने चिलिमे हाइड्रोमा विदेशी टोलीसहितको संयुक्त टोलीले लेदो हटाउने काम गरिरहेको छ। चिलिमे सुरुङसम्म हेभी इक्विपमेन्ट पुर्याउन आवश्यक बाटो निर्माणसमेत पूरा भएको सेनाले जनाएको छ।
माथिल्लो त्रिशूली–१ को हाकुबेशीस्थित अडिट–१ सुरुङमा करिब २०० मिटर क्षेत्र ड्रोनमार्फत रेकी गरी खोजी भइरहेको छ। हालसम्म त्यहाँ केही फेला परेको छैन। त्यस्तै, त्रिशूली–३ ए को पावरहाउस तथा सुरुङ र त्रिशूली–३ बीमा पनि संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ।
सेनाले रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङलगायतका क्षेत्रमा पैदल गस्तीमार्फत समेत बेपत्ताको खोजी गरिरहेको जनाएको छ। उद्धारसँगै प्रभावितको स्वास्थ्य उपचारलाई पनि सेनाले निरन्तरता दिएको छ। स्याफ्रुबेँसी होल्डिङ सेन्टरमा सञ्चालित स्वास्थ्य शिविरबाट शुक्रबार ५४ जनाले सेवा लिएका छन्। धुञ्चेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट थप ८५ जनाले स्वास्थ्य सेवा पाएका छन्। धुञ्चेबाट हालसम्म ३ हजार ६६५ जनाले स्वास्थ्य सेवा लिएको सेनाको भनाइ छ।
भोटेकोशी बाढीपछि रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म ८ हजार ७ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन गरिएको छ। सेनाका टोलीले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारलगायतका कामलाई निरन्तरता दिइरहेका छन्।
.gif)

.png)

