रास्वपा नेताको घरबाट ५० लाखको मोबाइल सामग्री बरामद
रौतहट : सीमावर्ती क्षेत्रमा अवैध रूपमा भण्डारण गरिएको ठूलो परिमाणको मोबाइल सामग्री सशस्त्र प्रहरीले बरामद गरेको छ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरीको टोलीले गौर नगरपालिका–४ टिकुलियामा खानतलासी गर्दा करिब ५० लाख १४ हजार ५०० रुपैयाँ मूल्य बराबरका मोबाइलसँग सम्बन्धित विभिन्न सामग्री बरामद गरेको हो।
सशस्त्र प्रहरीले गोप्य सूचनाका आधारमा स्थानीय रास्वपा नेता भोला साहको घरबाट करिब ५० लाख १४ हजार ५०० रुपैयाँ बराबरको मोबाइल सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयले जानकारी दिएको छ।
सशस्त्रको नं. ११ गण हेडक्वार्टर रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीको कमाण्डमा टोली परिचालन गरिएको थियो।
४५ जना सशस्त्र प्रहरी र गौर भन्सार कार्यालयका प्रतिनिधिसहितको टोलीले टिकुलियास्थित एक घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा मोबाइलका विभिन्न स्पेयर तथा सामग्री फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ।
त्यस क्रममा तीन थान मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ। बरामद सामग्री र मोटरसाइकलको स्रोत तथा भन्सारसम्बन्धी अवस्था खुल्न बाँकी रहेको छ। आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सबै सामान गौर भन्सार कार्यालय, रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीले बरामद सामग्रीको विस्तृत विवरण तथा त्यसको ओसारपसारमा संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेको जनाएको छ।
.gif)

.png)


