रास्वपा प्रवेश गरेका एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस
कपिलवस्तु : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका नेकपा एमालेबाट निर्वाचित कपिलवस्तुका दुई जनप्रतिनिधिमाथि एमालेले कारबाही प्रक्रिया अघि बढाएको छ। एमाले कपिलवस्तुको जिल्ला कमिटी बैठकले विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी र वडा नम्बर ५ का अध्यक्ष अनवर मोहम्मद मुसलमानलाई पार्टीबाट कारबाही गर्न केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो।
दुवै जनाले भदौ ५ गते रास्वपाको सदस्यता लिएका थिए। चौधरी एमालेबाट लगातार दोस्रो पटक विजयनगर गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी हुन् भने मुसलमान पनि दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित भएका हुन्। एमाले जिल्ला कमिटीको बैठकले उनीहरूलाई पार्टी सदस्यबाट कारबाही गर्नुका साथै निर्वाचित जनप्रतिनिधिको जिम्मेवारीबाट समेत मुक्त गर्न पार्टी केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ।
एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष बाबुराम खनालले दुवै जनप्रतिनिधिमाथि कारबाहीका लागि पार्टी केन्द्रमा सिफारिस गर्ने निर्णय भएको जानकारी दिएका छन्। रास्वपा प्रवेश गरेपछि उनीहरूमाथि एमालेले पार्टीगत कारबाहीको प्रक्रिया अघि बढाएको हो। यसअघि उनीहरूको रास्वपा सदस्यताबारे स्थानीय तहमा समेत प्रश्न उठेको थियो र सदस्यता प्रक्रियाबारे रास्वपाभित्र फरक धारणा सार्वजनिक भएको थियो।
.gif)

.png)

