एमाले महासचिवको प्रश्न : हिजो विरोध गर्नेहरूले आज किन ऋण लिएको ?
काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेशी ऋणको विषयमा वर्तमान सरकारले दोहोरो चरित्र देखाएको भन्दै प्रश्न उठाएका छन्।
अघिल्लो समयमा विदेशी ऋणको आलोचना गर्नेहरू नै अहिले सत्तामा पुगेपछि ठूलो मात्रामा ऋण लिइरहेको उनको भनाइ छ। मंगलबार फेसबुकमार्फत् पोखरेलले दिगो पूर्वाधार विकासका लागि विदेशी ऋण लिनु नेपालको आवश्यकता र बाध्यता दुवै भएको स्वीकार गरेका छन्। तर, पूर्ववर्ती सरकारले ऋण लिँदा विरोध गर्नेहरूले अहिले संसदमा स्पष्ट नीति र प्राथमिकता नदिई ऋण लिइरहेको उनले उल्लेख गरेका छन्।
‘हिजो विदेशी ऋणले देश डुबायो भनेर पूर्ववर्ती सरकारको आलोचना गर्नेहरू नै आज सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसदमा स्पष्ट रूपमा प्रस्तुत नगरी ठूलो मात्रामा ऋण लिइरहेका छन्,’ उनले लेखेका छन्, ‘यस्तो विषय सार्वजनिक हुँदा स्वाभाविक रूपमा प्रश्न उठ्छ ।’
२२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले १८.५ करोड अमेरिकी डलर (करिब २७ अर्ब ५१ लाख रुपैयाँ) बराबरको विदेशी ऋण लिने निर्णय गरेको थियो।
पोखरेलले सत्ता बाहिर हुँदा ऋणको विरोध गर्ने र सत्तामा पुगेपछि त्यही ऋण स्वीकार्ने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्। उनले ‘हिजो विरोध किन ? आज स्वीकार किन ?’ भन्ने प्रश्न गरेका छन्।
ठूलो मात्रामा विदेशी ऋण लिइएको विषयमा सरकारले जनतालाई स्पष्ट र पारदर्शी रूपमा जानकारी दिनुपर्ने उनको माग छ।
यसै विषयमा राप्रपाकी सांसद खुस्बु ओलीले पनि प्रतिनिधि सभा बैठकमा प्रश्न उठाएकी थिइन्।
.gif)

.png)

