सचिवालयमा एजेन्डा तय भएन, ओलीले सिधै केन्द्रीय कमिटीमा सुनाउने
काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक पार्टी सचिवालयले औपचारिक एजेन्डा तय नगरी सुरु हुने भएको छ। एमालेमा सामान्यतः केन्द्रीय कमिटी बैठकका एजेन्डा सचिवालय बैठकले तय गर्ने परम्परा रहँदै आएको छ।
तर सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गरेन। एक पदाधिकारीका अनुसार अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमै ‘एजेन्डा बैठकमा एकैचोटि आउँछ’ भनेका थिए। ती पदाधिकारीका अनुसार ओलीले केन्द्रीय कमिटी बैठकमा आफूले नै सिधै एजेन्डा प्रस्तुत गर्ने बताएका थिए।
केहीबेरमा ललितपुरको भनिमण्डलस्थित रामबाग पार्टी प्यालेसमा सुरु हुने केन्द्रीय कमिटी बैठकको प्रारम्भमा श्रद्धाञ्जली कार्यक्रम राखिएको छ। त्यसपछि अध्यक्ष ओलीको मन्तव्य र राष्ट्रिय गानको कार्यक्रम हुनेछ।
त्यसपछि ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमा केन्द्रीय सदस्यहरूले छलफल गर्ने कार्यसूची रहेको बताइएको छ। सचिवालयले एजेन्डा तय नगरी अध्यक्षले बैठकमै प्रत्यक्ष रूपमा एजेन्डा प्रस्तुत गर्ने अवस्थाले एमालेभित्र जारी पुनर्गठनसम्बन्धी बहस र नेतृत्वबीचको मतभेदलाई थप रोचक बनाएको छ।
.gif)

.png)

