पुनर्गठनको प्रतिवेदन मेरो प्रतिवेदनमै छ : ओली
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदनलाई आफ्नो राजनीतिक प्रतिवेदनमै समेटिएको बताएका छन्।
ललितपुरमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा ओलीले कार्यदलको प्रतिवेदन ढिलो आएको उल्लेख गर्दै त्यसका विषयवस्तु आफूले प्रस्तुत गर्ने अध्यक्षको प्रतिवेदनमा समेटिएको बताएका हुन्।
‘पुनर्गठन कार्यदलको प्रतिवेदन पार्टीको सम्पत्ति भइसक्यो। त्यसलाई सम्पत्तिको रूपमा राख्ने निर्णय भएको छ,’ ओलीले भने, ‘त्यसलाई समेत ध्यानमा राखेर अध्यक्षको प्रतिवेदन तयार भयो।’
पार्टी पुनर्गठनका विषयमा महासचिव शंकर पोखरेलले एउटा प्रतिवेदन तयार गरेका थिए। त्यसपछि ओलीकै निर्देशनमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले अर्को प्रतिवेदन तयार पारेका थिए। दुईथरी प्रतिवेदन आएपछि विषय थप जटिल बनेको भन्दै ओलीको निर्देशनमा नेता प्रदीप ज्ञवालीले अर्को प्रतिवेदन तयार गरेका थिए।
ज्ञवालीको प्रतिवेदनलाई समेत समेटेर कार्यदलको प्रतिवेदन तयार भएपछि त्यसलाई पार्टीको ‘सम्पत्ति’का रूपमा राख्ने निर्णय भएको ओलीले बताएका हुन्। केन्द्रीय कमिटी बैठकमा ओलीले आफूले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा पुनर्गठन कार्यदलको प्रतिवेदनका विषयवस्तु समेटिएको स्पष्ट पारेका छन्।
ओलीले पार्टीलाई नयाँ गति दिने उपायबारे छलफल गर्न कार्यदल गठन गरिएको बताए। तर, एक महिनाभित्र काम सक्ने जिम्मेवारी पाएको कार्यदलले चार महिनासम्म समय लगाएको उनको भनाइ थियो।
‘हामी कार्यदल बनाउनतिर लाग्यौँ। त्यो कति उपयुक्त गर्यौँ, गरेनौँ, अहिले त्यसको धेरै समीक्षामा पनि नजाऔँ। त्यो बनाइसक्यौँ। त्यसले अलिक विलम्ब गरी काम गर्यो। एक महिनाको समय भनेको चार महिनाको समय गुज्रियो,’ ओलीले भने।
कार्यदलको काम नसकिँदासम्म सचिवालय बैठक बस्न र सचिवालय बैठक नबसी केन्द्रीय कमिटी बैठक बोलाउन सहज नभएकाले बैठकमा ढिलाइ भएको उनले बताए। ‘कार्यदलकै बैठक चलेको छ, कार्यदलकै काम सकिएको छैन, कार्यदलकै प्रतिवेदन आएको छैन। कार्यदलको प्रतिवेदनबिना सचिवालय बस्न सक्दैन। सचिवालय नबसीकन केन्द्रीय कमिटी बस्न त्यति उपयुक्त हुँदैन भन्ने कुराले विलम्ब हुँदै गयो,’ ओलीले भने।
.gif)

.png)

