एमाले बैठकअघि ओलीको उर्दी : शंकर पोखरेल र विष्णु पौडेलमाथि ‘जाइलाग्नू’

पोखरेल–पौडेल गगन थापाको बाटोमा हिँडेको ओलीको आरोप


२०८३ असोज ५ सोमबार ०९:२२ बजे

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू निकट केन्द्रीय सदस्यहरूलाई उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतका नेताहरूविरुद्ध ‘जाइलाग्न’ निर्देशन दिएका छन्।

केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा आइतबार साँझ आफू निकट नेताहरूलाई भक्तपुरको गुन्डुस्थित निजी निवासमा बोलाएर ओलीले पौडेल र पोखरेल नेपाली कांग्रेसका सभापति गगन थापाको बाटोमा हिँड्न खोजेको भन्दै बैठकमा कडा प्रतिवाद गर्न निर्देशन दिएको स्रोतले जनाएको छ।

ओलीको निवास पुगेका केन्द्रीय सदस्यहरूलाई उनले सोमबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा लामो ब्रिफिङ गरेका थिए। सचिव महेश बस्नेतसहितको बैठकमा ओली पौडेल र पोखरेलप्रति आक्रोशित रूपमा प्रस्तुत भएको सहभागी एक केन्द्रीय सदस्यले बताए।

ती नेताका अनुसार ओलीले भनेका थिए, ‘शंकर पोखरेल, विष्णु पौडेलहरू गगन थापाको बाटो हिँड्न खोज्दैछन्। सिलसिलेवार र योजनाबद्ध हिसाबले बैठकमा प्रतिवाद गर्नुपर्छ, जाइलाग्नुपर्छ। यिनीहरूलाई कुखुरा भुत्लाए जसरी भुत्लाउनुपर्छ।’

यसअघि आइतबार बसेको एमाले सचिवालय बैठकमा पनि अध्यक्ष ओली पौडेल र पोखरेलप्रति आक्रामक रूपमा प्रस्तुत भएको बताइएको छ।

एमाले पुनर्गठन कार्यदलले तीनबुँदे सहमति गर्दै सचिवालय बैठकमा तीनवटा प्रतिवेदनको एकीकृत स्वरूप पेस गरेको थियो। तर ओलीले त्यसलाई ‘कागजको टुक्रा’ अर्थात् ‘चिर्कटो’को संज्ञा दिँदै असहमति जनाएका थिए।

एक पदाधिकारीका अनुसार ओली एकोहोरो रूपमा प्रस्तुत भएपछि बैठकमा उपस्थित अन्य पदाधिकारीले तत्काल प्रतिवाद गरेनन्। ती पदाधिकारीका अनुसार नेताहरूले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन माग गरेका थिए। तर ओलीले प्रतिवेदन सिधै केन्द्रीय कमिटी बैठकमा पेस गर्ने बताएका थिए।

पदाधिकारीहरूले प्रतिवेदनबारे असन्तुष्टि जनाएपछि ओलीले सोमबार बिहान राजनीतिक प्रतिवेदन मौखिक रूपमा प्रस्तुत गर्ने बताएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७