नेपाली महिलालाई भारत पुर्याएर शोषण गरिएको विषयमा छानबिन सुरु
काठमाडौं : नेपाली महिला तथा युवतीलाई विभिन्न प्रलोभनमा भारत पुर्याएर शोषण गर्ने गरेको समाचार सार्वजनिक भएपछि सरकारले घटनाबारे छानबिन थालेको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक भएका विवरणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गृह मन्त्रालयसँग समन्वय गरी सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई छानबिनका लागि निर्देशन दिएको जनाएको छ।
विभिन्न सञ्चारमाध्यममा प्रकाशित खोजमूलक समाचारमा नेपाली महिला तथा युवतीलाई झुटा आश्वासन र प्रलोभन दिएर बिचौलियामार्फत भारत लैजाने तथा शोषणमा पार्ने गरेको विषय उठाइएको थियो। मन्त्रालयले ती विवरणलाई प्रारम्भिक सूचनाका रूपमा लिँदै घटनाको सत्यतथ्य पत्ता लगाउने प्रक्रिया अघि बढाएको जनाएको छ।
छानबिनका क्रममा घटनासँग सम्बन्धित व्यक्ति, बिचौलिया, संस्था, सीमा नाका, यात्राको माध्यम तथा सम्भावित आपराधिक सञ्जालबारे अनुसन्धान गरिने मन्त्रालयले जनाएको छ। साथै सम्भावित पीडितको पहिचान तथा संरक्षण, प्रमाण संकलन र संलग्न व्यक्तिको अनुसन्धानका लागि सुरक्षा निकायसँग समन्वय भइरहेको छ। मन्त्रालयले घटनामा संलग्नता पुष्टि भएका व्यक्ति वा सञ्जालमाथि प्रचलित कानूनबमोजिम कारबाही गरिने स्पष्ट पारेको छ। मन्त्रालयका अनुसार हालसम्म पीडितको संख्या, आरोपितको परिचय वा पक्राउसम्बन्धी विवरण सार्वजनिक गरिएको छैन।
सीमापार शोषणमा संलग्नलाई कारबाही
नेपाल–भारत खुला सीमाको दुरुपयोग गरी रोजगारी, विवाह, अध्ययन, वैदेशिक रोजगारी वा मनोरञ्जनका अवसरको प्रलोभनमा महिला, युवती तथा बालबालिकालाई सीमापार लैजाने र शोषण गर्ने गतिविधिमा संलग्नता पुष्टि भए कानुनी कारबाही गरिने मन्त्रालयले जनाएको छ।
नेपाली नागरिकलाई सीमापार पुर्याउँदैमा नेपालको सरोकार समाप्त नहुने भन्दै मन्त्रालयले त्यस्ता कार्यमा संलग्न व्यक्ति कानुनी कारबाहीबाट उम्कन नसक्ने स्पष्ट पारेको छ। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले यस्ता कार्यलाई गम्भीर कसुरका रूपमा परिभाषित गरेको मन्त्रालयले जनाएको छ। सरकारले अनुसन्धान तथा कानुनी कारबाहीसँगै सम्भावित पीडितको उद्धार, संरक्षण, सुरक्षित घरफिर्ती र पुनर्स्थापनालाई समेत प्राथमिकतामा राखेको जनाएको छ।
मन्त्रालयले सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट आउने अस्वाभाविक रोजगारी, उच्च आम्दानी, विदेश यात्रा, विवाह, मोडलिङ तथा मनोरञ्जनसम्बन्धी आकर्षक प्रस्तावप्रति सतर्क रहन आग्रह गरेको छ। वैदेशिक रोजगारी, अध्ययन वा यात्रामा जानुअघि सम्बन्धित व्यक्ति तथा संस्थाको आधिकारिकता यकिन गर्न र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न मन्त्रालयले अनुरोध गरेको छ।
त्यस्तै राहदानी, नागरिकता, बैंक विवरणलगायत व्यक्तिगत कागजात अपरिचित व्यक्ति वा बिचौलियालाई सहजै उपलब्ध नगराउन पनि मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा मानव बेचबिखन, जबर्जस्ती वा प्रलोभनमा लैजाने प्रयास तथा सीमापार शोषणसम्बन्धी सूचना तत्काल सम्बन्धित निकायलाई दिन आग्रह गरिएको छ।
यस्ता सूचना नजिकको प्रहरी कार्यालय, सम्बन्धित सरकारी निकाय वा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई उपलब्ध गराउन सकिने मन्त्रालयले जनाएको छ।
.gif)

.png)

