गुल्मीमा स्कारपियो दुर्घटना : ६ जनाको मृत्यु, तीन घाइते


२०८३ कार्तिक १० सोमबार १८:५६ बजे

गुल्मी : गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो सोमबार दिउँसो करिब ४ बजे कालीगण्डकी करिडोर सडकखण्डबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको र उपचारका क्रममा थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ–१० का शिव पराजुली तथा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका लोकनाथ पाण्डे, सीता पाण्डे र कुलानन्द पाण्डे रहेका छन्। 

घटनास्थलमै मृत्यु भएका अर्का एक जनाको पहिचान खुल्न बाँकी छ।

दुर्घटनामा घाइते भएकी निता बगालेको उपचारका क्रममा स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते छविलाल पाण्डेको अवस्था गम्भीर रहेको छ भने गोमता पाण्डे र बालकृष्ण सुवेदीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी पुर्तिघाट, इलाका प्रहरी कार्यालय रिडी तथा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी टोली उद्धारका लागि खटिएको थियो।

प्रहरी निरीक्षक सुदीप नेपालीका अनुसार दुर्घटनाबारे थप विवरण सङ्कलन भइरहेको छ। मृतक तथा घाइतेको विवरणसमेत पुष्टि गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७