जापानमा नेपाली विद्यार्थी लक्ष्मीको मृत्यु प्रकरणः तीन नेपाली पक्राउ
बाल्कोनीबाट नदीमा खसालिएको आशंका
जापान : जापानको फुकुओका सहरमा नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको मृत्यु भएको घटनामा संलग्न रहेको आशंकामा तीन नेपाली पक्राउ परेका छन्। जापानी सञ्चारमाध्यम जापान टुडेका अनुसार फुकुओका प्रहरीले मंगलबार २८ वर्षीय सञ्जु तामाङ, २५ वर्षीया अस्मिता तामाङ र २२ वर्षीय प्रवीन लामालाई पक्राउ गरेको हो। उनीहरूमाथि २५ वर्षीया नेपाली विद्यार्थी राजवंशीको हत्या गरेको आशंका गरिएको छ।
प्रहरीका अनुसार गत अगस्टमा फुकुओकाको तेन्जिन क्षेत्रमा रहेको एक नदीमा राजवंशीको शव फेला परेको थियो। उनी सन् २०२३ को मे महिनातिर विद्यार्थी भिसामा जापान आएको बताइएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अगस्ट १८ राति करिब ११ः३० बजेदेखि अगस्ट १९ बिहान १२ः१५ बजेको बीचमा राजवंशीमाथि फुकुओकास्थित उनको घरमा आक्रमण भएको आशंका छ।
अनुसन्धानका क्रममा उनको टाउकोमा भाँडाले प्रहार गरिएको र डोरीले घाँटी थिचिएको तथा त्यसपछि तेस्रो तलाको बाल्कोनीबाट नदीमा खसेर डुबेको हुन सक्ने प्रहरीले जनाएको छ। पक्राउ परेका सञ्जु तामाङ राजवंशीले डेट गरिरहेका व्यक्तिसँग एउटै घरमा बस्दै आएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सञ्जुले राजवंशीमाथि आक्रमण गरी उनलाई तेस्रो तलाको बाल्कोनीबाट खस्न बाध्य बनाएको आशंका गरिएको छ।
अगस्ट १९ बिहान करिब ५ः४५ बजे तेन्जिन क्षेत्रको नाका नदीमा एक यात्रुले पानीमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। उद्धार गरी बाहिर निकालिएपछि राजवंशीलाई घटनास्थलमै मृत घोषणा गरिएको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ परेका तीनै जनामाथि लागेको आरोप अनुसन्धानकै क्रममा रहेकाले उनीहरू अहिलेसम्म दोषी ठहर भइसकेका छैनन्।
.gif)

.png)

