बीमा नगर्दा भोटेकोशी बाढीको २५ अर्ब क्षति प्राधिकरणकै काँधमा


२०८३ भदौ २५ बिहीबार १९:२१ बजे

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले आफ्नै पूर्ण लगानीमा सञ्चालित जलविद्युत् आयोजनाको बीमा नगर्दा भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट भएको ठूलो क्षतिको सम्पूर्ण आर्थिक भार आफैँले व्यहोर्नुपर्ने भएको छ। प्राधिकरणका अनुसार बाढीबाट ६० मेगावाटको त्रिशूली–३ ‘ए’, २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत् आयोजनामा प्रारम्भिक रूपमा करिब २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ।

त्रिशूली–३ ‘ए’ मा मात्रै १४ अर्ब ५० करोड रुपैयाँ, त्रिशूली जलविद्युत् आयोजनामा ६ अर्ब रुपैयाँ र देवीघाटमा करिब पौने ४ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ। प्राधिकरणका कामु प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठले प्राधिकरणको पूर्ण लगानी रहेका २२ वटै जलविद्युत् आयोजना बीमित नरहेको स्वीकार गरेका छन्। उनका अनुसार विगतदेखि नै बीमा नगरिएकाले यसपटक पनि आयोजनाहरूको बीमा गरिएको थिएन। प्राधिकरणको आंशिक लगानी रहेका आयोजनाहरू भने बीमित छन्। श्रेष्ठका अनुसार जलविद्युत् आयोजना, प्रसारण लाइन तथा अन्य सम्पत्तिको बीमा गर्दा वार्षिक रूपमा ठूलो रकम बीमा शुल्क तिर्नुपर्ने भएकाले विगतमा बीमा नगरिएको हो।

प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले पनि प्राधिकरणको सम्पत्ति ठूलो भएकाले सबै सम्पत्तिको बीमा गर्दा वार्षिक रूपमा ठूलो रकम प्रिमियममा खर्च हुने बताएका छन्। सामान्य अवस्थामा हुने क्षतिको तुलनामा बीमा प्रिमियममा लाग्ने रकम बढी हुने भएकाले विगतमा बीमा नगर्ने नीति लिइएको उनको भनाइ छ। उनका अनुसार यति ठूलो क्षति १५–२० वर्षमा एकपटक मात्रै हुने भएकाले लामो समयसम्म बीमा गर्दा प्राधिकरणले ठूलो रकम प्रिमियममा खर्च गर्नुपर्ने अवस्था आउँछ। तर, बीमा क्षेत्रका अधिकारीहरूले भने विपद्को जोखिमलाई बेवास्ता गर्न नहुने बताएका छन्।

निर्जीवन बीमक संघका अध्यक्ष वीरेन्द्रबहादुर बैदरवारले विपद् जुनसुकै बेला आउन सक्ने भएकाले सम्पत्तिको बीमा गर्नु नै जोखिम व्यवस्थापनको उचित उपाय भएको बताए। ‘यसपटक तीनवटा आयोजनामा क्षति भयो भन्दैमा भविष्यमा पाँच वा १० वटा आयोजनामा ठूलो क्षति हुँदैन भन्ने सुनिश्चितता छैन,’ उनले भने। संघका महासचिव सुनिल बल्लभ पन्थले बीमा जोखिम हस्तान्तरण गर्ने माध्यम भएकाले पछिल्लो बाढीबाट भएको ठूलो क्षतिबाट पाठ सिकेर प्राधिकरणले आफ्ना सम्पत्तिको बीमा गर्नुपर्ने बताए। उनका अनुसार पछिल्लो समय विगतको तुलनामा ठूलो बाढीसमेत आउन सक्ने जोखिम देखिएकाले सम्भावित आर्थिक जोखिमलाई बीमामार्फत हस्तान्तरण गर्नु उपयुक्त हुन्छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७