एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक
काठमाडौं : पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित एमालेको कार्यदलको प्रतिवेदनमा देखिएको विवाद मिलाउन नेताहरू आवासीय बैठकमा जुटेका छन्। गत फागुन २१ गतेको निर्वाचनमा पार्टीको पराजयलगायत विषयको समीक्षा गर्दै पार्टी र जनताबीचको सम्बन्ध सुधार तथा आवश्यक रूपान्तरण र पुनर्गठनका लागि सुझाव दिन गठित कार्यदलका पदाधिकारीहरू काभ्रेपलान्चोकमा आवासीय रूपमा बसेर छलफल गरिरहेका छन्।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार शनिबार बैठकका लागि काभ्रे पुगेका नेताहरू छलफल सकेर आइतबार काठमाडौँ फर्कनेछन्। कार्यदलले प्रदेशगत रूपमा सुझाव संकलन गरेपछि महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदन र कार्यदलका संयोजक तथा पार्टी उपाध्यक्ष रामबहादुर थापाले तयार गरेको फरक प्रतिवेदनका कारण विवाद उत्पन्न भएको हो। महासचिव पोखरेलको प्रतिवेदनमा अधिकांश नेताहरूको सहमति रहेको जनाइए पनि कार्यदलबाट सर्वसम्मत प्रतिवेदन तयार गर्ने समझदारी भएकाले थप छलफल भइरहेको नेताहरूले बताएका छन्।
गत शुक्रबारको बैठकमा दुईवटा फरक प्रतिवेदन प्रस्तुत भएपछि सबै विषय समेटेर एउटै प्रतिवेदन तयार गरी सचिवालय बैठकमा पेस गर्ने तयारी कार्यदलले गरेको छ। एमाले सचिवालयको गत जेठ १० गते सम्पन्न आठौँ बैठकले उपाध्यक्ष थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो। जेठ २६ गते अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बसेको कार्यदलको पहिलो बैठकले प्रदेशगत रूपमा सुझाव संकलन गर्ने कार्यतालिका तय गरेको थियो।
भोटेकोशी बाढीपछिको अवस्थाका कारण एमालेको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक आगामी असोज ५, ६ र ७ गतेका लागि तय गरिएको छ। त्यसअघि नै कार्यदलको प्रतिवेदनलाई अन्तिम रूप दिने प्रयास भइरहेको जनाइएको छ।
.gif)

.png)

