भोटेकोशी बाढीपीडितका लागि एमालेले १ करोड २० लाख जुटाएर आफैं परिचालन गर्ने

‘कोषमा पैसा जम्मा भएको छ, राहत सामग्री पनि जम्मा भएको छ। तर जनता भोकै छन्, पीडितसमक्ष राहत पुग्न सकेको छैन’


२०८३ भदौ १५ सोमबार २०:५३ बजे

काठमाडौं :  नेकपा (एमाले) ले भोटेकोशी बाढीपीडितका लागि आफैं सहयोग संकलन गरी राहत, उद्धार तथा पुनःस्थापनामा परिचालन गर्ने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसका लागि न्यूनतम १ करोड २० लाख रुपैयाँ संकलन गरिने बताएका छन्।

सोमबार एमालेका बागमती प्रदेश र राजधानी प्रदेश कमिटीका तर्फबाट १०–१० लाख रुपैयाँका दरले २० लाख रुपैयाँ सहयोग पार्टीलाई हस्तान्तरण गरिएको थियो। सहयोग रकमको चेक बुझ्दै अध्यक्ष ओलीले एमालेले सरकारको भर नपरी आफ्नै स्रोतबाट समेत बाढीपीडितका लागि राहत वितरण गरिरहेको बताए। विपद्का बेला उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकार र सम्बन्धित सबै पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो।

ओलीले राहतका लागि सरकारी कोषमा रकम जम्मा भए पनि पीडितसमक्ष समयमै पुग्न नसकेको टिप्पणी गरे। ‘केन्द्र सरकारको कोषमा पैसा जम्मा भएको छ, राहत जम्मा भएको छ। तर जनता भोकै छन्, राहत पुग्न पाएको छैन। यो स्थितिलाई न्यून गरौँ, अन्त्य गरौँ भनेर पहल एवं प्रयास गरिरहेका छौँ,’ उनले भने।

एमालेले राहत, उद्धार तथा पुनःस्थापनाका लागि कम्तीमा १ करोड २० लाख रुपैयाँ संकलन गर्ने र आवश्यकताअनुसार खर्च गर्ने निर्णय गरेको ओलीले जानकारी दिए। ‘साँच्चै पीडितकहाँ पुर्‍याउने कि सरकारको कोषमा देखाउने? कोषलाई पैसा चाहिएको होइन, पीडितलाई राहत पुर्‍याउन खोजेको हो। कुन माध्यमबाट छिटोछरितो ढङ्गले यथार्थ पीडितकहाँ यथार्थ राहत पुग्छ, त्यही बाटो अवलम्बन गर्छौं,’ उनले भने।

ओलीले विपद्का बेला सबैले दिल खोलेर सहयोग गर्नुपर्ने बताए। उद्धार कार्यमा निजी हेलिकप्टर तथा तालिमप्राप्त जनशक्तिको प्रभावकारी उपयोग गर्नुपर्नेमा उनले जोड दिए। ‘उद्धार गर्न उत्सुकहरू छन्, उद्धारका निम्ति तालिम लिएका मान्छेहरू छन्। त्यस्ता मान्छेहरूलाई हेलिकप्टर प्रयोग गर्न दिने हो भने, तिनीहरूले काम गर्न पाउने हो भने धेरै काम गर्थे,’ उनले भने।

जलवायु परिवर्तनको असरबारे ओली

अध्यक्ष ओलीले पछिल्लो विपद्लाई जलवायु परिवर्तनको गम्भीर असरका रूपमा व्याख्या गर्दै नेपालजस्ता जलवायु परिवर्तनको प्रभावबाट बढी प्रभावित मुलुकलाई विकसित देशहरूले क्षतिपूर्ति दिनुपर्ने बताए।

‘वातावरण विनाशका लागि योगदान नगरेका हामी र हामीजस्ता साना तथा संवेदनशील देशहरूले त्यसको क्षति बेहोर्नुपर्ने अवस्था छ। विकसित देशहरूले क्षतिपूर्ति दिनुपर्छ,’ ओलीले भने। वातावरण विनाशसँग सम्बन्धित क्षतिपूर्तिका विषयमा संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय संस्थाहरूले स्पष्ट नियम र मापदण्ड तत्काल बनाउनुपर्नेमा समेत उनले जोड दिए।

यसैबीच, एमाले प्रचार विभागका प्रमुख निरज आचार्यले प्रधानमन्त्री राहत कोषमा पार्टीले रकम जम्मा गर्ने वा नगर्ने विषयमा निर्णय भइनसकेको बताए। उनले भने, ‘यो कोषमा पैसा थुप्रिएको तर पीडितहरूसम्म राहत नपुगेको जनगुनासो छ। १ करोड २० लाख रुपैयाँ पार्टीले संकलन गरेपछि कसरी खर्च गर्ने भनेर आवश्यक निर्णय लिइनेछ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७