सचिव बढुवाका लागि पराजुली, तामाङ र श्रेष्ठको नाम सिफारिस
काठमाडौं : रिक्त एक सचिव पदमा बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस भएको छ। सचिव बढुवा सिफारिस समितिको शुक्रबार बसेको बैठकले नेपाल प्रशासन सेवातर्फ रिक्त एक सचिव पदका लागि कालीप्रसाद पराजुली, रुद्रसिंह तामाङ र आभा श्रेष्ठलाई योग्यताक्रमअनुसार क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको हो।
सिफारिसमा पहिलो नम्बरमा रहेका कालीप्रसाद पराजुली राष्ट्रिय महिला आयोगमा, दोस्रो नम्बरका रुद्रसिंह तामाङ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा र तेस्रो नम्बरकी आभा श्रेष्ठ मधेस प्रदेशमा सचिवका रूपमा कार्यरत छन्। निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवामा रिक्त एक सचिव पदका लागि बढुवा समितिले तीन जना सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था छ। समितिको सिफारिसपछि तीनमध्ये एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गर्नेछ। यसपटक पराजुली पहिलो नम्बरमा सिफारिस भएकाले मन्त्रिपरिषद्ले योग्यताक्रमलाई निरन्तरता दिन्छ कि अन्य आधारलाई प्राथमिकता दिन्छ भन्ने विषय प्रशासनिक वृत्तमा चासोको विषय बनेको छ।
सचिव पद रिक्त हुँदै गएसँगै बढुवा सिफारिसको क्रम पनि अघि बढिरहेको छ। यसअघि रिक्त सचिव पदका लागि उत्तमकुमार खत्री, कालीप्रसाद पराजुली र रुद्रसिंह तामाङ क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस भएका थिए। यसपटक अघिल्लो सिफारिसमा दोस्रो नम्बरमा रहेका पराजुली पहिलो स्थानमा उक्लिएका छन् भने तेस्रो नम्बरमा रहेका तामाङ दोस्रोमा आएका छन्। आभा श्रेष्ठ तेस्रो नम्बरमा सिफारिस भएकी छन्।
यसअघि ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने २० प्रतिशततर्फ वरिष्ठ सहसचिव विनोदबहादुर कुँवरको एकल नाम सचिव बढुवाका लागि सिफारिस भएको थियो। उनी सचिवमा नियुक्त भइसकेका छन्।
हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रमा सचिव पद रिक्त रहेको छ। नयाँ सचिवको बढुवासँगै पदस्थापन तथा सरुवाको प्रक्रिया अघि बढ्ने भएकाले आगामी मन्त्रिपरिषद् बैठकबाट उच्च प्रशासनिक तहमा थप हेरफेर हुन सक्ने देखिएको छ।
प्रदेशमा प्रमुख सचिवका रूपमा खटिएका सचिवलाई संघमा फर्काउने र संघबाट नयाँ सचिवलाई प्रदेशमा पठाउने विषयसमेत प्रशासनिक वृत्तमा चर्चामा छ। यसले संघीय सरकारका मन्त्रालय तथा केन्द्रीय निकायमा सचिव व्यवस्थापनमा समेत प्रभाव पार्न सक्नेछ।
.gif)

.png)

