सिबिफिनको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय


२०८३ भदौ २६ शुक्रबार २०:३६ बजे

काठमाडौं : बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले पाएका छन्। निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत भएपछि सिबिफिनको अध्यक्ष पद रिक्त भएको थियो।

बिहीबार बसेको सिबिफिन कार्यसमिति बैठकले आसन्न वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन नभएसम्म संस्थाको नेतृत्व निरन्तरता दिन उपाध्यायलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने सर्वसम्मत निर्णय गरेको हो। उपाध्याय महालक्ष्मी विकास बैंकका अध्यक्षसमेत हुन्। उनी नेपालको बैंकिङ, बीमा तथा वित्तीय सेवा क्षेत्रमा करिब अढाई दशकदेखि सक्रिय छन्। सिबिफिनको स्थापनाकालदेखि नै कार्यसमितिका विभिन्न जिम्मेवारीमा रहेर उनले संस्थाको विकास र सुदृढीकरणमा योगदान दिँदै आएको जनाइएको छ।

विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा नेतृत्वदायी भूमिकामा काम गरेको अनुभव रहेका उपाध्यायको नेतृत्वले सिबिफिनलाई थप प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। वर्तमान आर्थिक परिवेशमा बैंकिङ क्षेत्रले भोगिरहेका नीतिगत तथा व्यावहारिक चुनौती समाधानका लागि समन्वयकारी भूमिका बढाउने तथा बैंकिङ क्षेत्रको स्थायित्व, विश्वसनीयता र दिगो विकासमा योगदान गर्ने सिबिफिनको विश्वास छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७