बाढीको भग्नावशेष हटाउन ९५ अर्ब ४२ करोड लाग्ने


२०८३ भदौ २६ शुक्रबार ०७:१४ बजे
फाइल फोटो

काठमाडौं : भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा तथा भवनका भग्नावशेष हटाउन मात्रै ९५ अर्ब ४२ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्याङ्कन (आरडिएनए) प्रतिवेदन’ले तत्काल तथा दीर्घकालीन पुनःस्थापनाका लागि उक्त रकम आवश्यक पर्ने देखाएको हो।

प्रतिवेदनअनुसार बाढीबाट ४८ अर्ब २४ करोड रुपैयाँबराबरका भवन संरचना भत्किएका छन्। त्यससँगै करिब २ अर्ब रुपैयाँबराबरको माटो थुप्रिएको छ। उक्त माटो हटाउन मात्रै ३० करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ। विपद् जोखिम न्यूनीकरणका लागि तत्काल ३५ करोड र दीर्घकालीन रूपमा ९४ करोड ४० लाख गरी कुल ९४ करोड ७५ लाख रुपैयाँ आवश्यक पर्ने देखिएको छ।

यसअन्तर्गत जलमार्गको भग्नावशेष हटाउने, नदी व्यवस्थापन, बस्ती संरक्षण, नदी कटान तथा पहिरो नियन्त्रण, सिँचाइ प्रणाली पुनःस्थापना र बहुविपद् पूर्वसूचना प्रणाली विकासलगायतका काम हुनेछन्। समावेशी पुनःस्थापनाका लागि तत्काल छ महिनाका लागि १५ करोड रुपैयाँ आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। यो रकम महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत तथा अन्य जोखिममा रहेका समुदायको पुनःस्थापना र पुनर्निर्माणमा खर्च गरिनेछ।

प्रतिवेदनले छ महिनाभित्र भवनका भग्नावशेष, ढुङ्गा, माटो र बालुवा हटाउने काम करिब ३१.१ प्रतिशत पूरा गर्न सकिने आकलन गरेको छ। यसैगरी, तत्काल पुनरुत्थानका लागि पूर्वाधार क्षेत्रमा ६७ अर्ब ४२ करोड, सामाजिक क्षेत्रमा ८ अर्ब २९ करोड र उत्पादन क्षेत्रमा ५ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

उत्पादन क्षेत्रको रकम कृषि, माछापालन, पशुपालन, बैंकिङ, आर्थिक गतिविधि तथा जीवनयापन पुनःस्थापनामा खर्च हुने प्रतिवेदनमा उल्लेख छ। यस्तै, भग्नावशेष व्यवस्थापन र विपद् जोखिम न्यूनीकरणका लागि तत्काल छ महिनामा मात्रै ६ अर्ब ६० करोड रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७