इनम प्रकरणमा उमेश श्रेष्ठका भाइ महेश पनि अनुसन्धानको दायरामा
काठमाडौं : विचौलिया इनम सापकोटासँग सम्बन्ध देखिएको आरोपमा पक्राउ परेका महेश श्रेष्ठविरुद्ध पनि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको हो । अदालतले श्रेष्ठको म्याद इनम सापकोटाकै म्यादसँग मिलान गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले जानकारी दिए ।
शनिबार पक्राउ परेका श्रेष्ठलाई बुधबारसम्म हिरासतमा राख्न अनुमति दिइएको छ । त्यसपछि थप म्यादका लागि बिहीबार अदालत उपस्थित गराइनेछ ।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार श्रेष्ठको सम्बद्ध कसुरलाई इनमको सुरुवाती कसुरसँग जोडेर हेरिएको छ ।
एउटै व्यक्तिको सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा उनीसँग कारोबार गरेको देखिए सम्बद्ध व्यक्तिमाथि पनि अनुसन्धान अघि बढाउन सकिने ती अधिकारीले बताए ।
इनममाथि भने राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरलाई सम्बद्ध कसुर मानेर अनुसन्धान भइरहेको छ ।
नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेशलाई प्रहरीले शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट पक्राउ गरेको थियो ।
स्रोतका अनुसार इनम र श्रेष्ठबीच प्रत्यक्ष कारोबार देखिएको छैन, तर केही चेकका तस्बिर आदानप्रदान भएको पाइएको छ ।
.gif)

.png)




