मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो
१३ हजार ५८३ जनाको उद्धार
काठमाडौं : रसुवामा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३५७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ २३ गते दिउँसो १ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै मृत्यु हुनेको संख्या पुष्टि गरेको हो।
प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट शव तथा मानव अंग फेला पर्ने क्रम जारी छ। चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १६९, धादिङमा ७०, गोरखामा ७५ र तनहुँमा ३८ वटा शव तथा मानव अंग फेला परेका छन्। फेला परेका शवमध्ये हालसम्म १०२ जनाको मात्र सनाखत भएको छ। सनाखत भएका शव आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ।
बाढीपछि अझै ५ हजार ३२६ जना सम्पर्कविहीन छन्। रसुवा मात्रैबाट २ हजार ८६० जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। त्यसमध्ये रसुवाका १ हजार ३९३ जना, अन्य जिल्लाका १ हजार २८६ जना, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२, सरकारी कर्मचारी ७३ तथा बैंक तथा वित्तीय संस्थाका २६ कर्मचारी छन्। त्यस्तै, नुवाकोटबाट करिब १ हजार ९८१ नेपाली नागरिक र ५८७ विदेशी पर्यटक अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
विपद्पछि सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ५८३ जनाको सकुशल उद्धार गरिएको छ। बाढीमा परी घाइते भएका ६ हजार ८२७ जनाको उपचार गरिएको छ। नेपाली सेनाबाट ३ हजार ४०४, सशस्त्र प्रहरीबाट ३ हजार ९६ र विभिन्न १० अस्पतालमा ३२७ जनाको उपचार भएको छ। अस्पतालमा उपचार गराइरहेका मध्ये २४२ जना डिस्चार्ज भइसकेका छन्।
खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरीका ४ हजार २०३ सुरक्षाकर्मी उद्धार तथा राहतमा खटिएका छन्। हेलिकप्टरमार्फत उद्धार तथा राहतका लागि नेपाली सेनाले १ हजार १५७, निजी क्षेत्रले काठमाडौंबाट १२९ र सशस्त्र प्रहरीले २०३ पटक उडान भरेका छन्।
बाढीबाट विस्थापित भएका ३ हजार ५३३ जनालाई ३९ वटा होल्डिङ सेन्टरमा राखिएको छ। रसुवामा ६६९, नुवाकोटमा २ हजार ६५१ र धादिङमा २१३ जना होल्डिङ सेन्टरमा रहेका छन्। सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख तथा प्रभावित १५ स्थानीय तहलाई १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ।
प्रभावित क्षेत्रमा ५० हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल, १८ हजार लिटर हवाई इन्धन र ४५७ सिलिन्डर ग्यास पठाइएको छ। स्वास्थ्य मन्त्रालयले प्रभावितहरूलाई मनोसामाजिक परामर्श दिन १५० भन्दा बढी जनशक्ति परिचालन गरेको छ।
विद्युत् आपूर्ति पनि क्रमशः सामान्य बन्दै गएको छ। प्राधिकरणका अनुसार धादिङमा ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा ७८ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ।
हेर्नूहोस् पछिल्लो अपडेटः

.gif)

.png)

