इन्टरपोल दिवसमा धरहरामा दीप प्रज्वलन

बाढी तथा सुरक्षाकर्मीका मृतकप्रति श्रद्धाञ्जली


२०८३ भदौ २३ मंगलबार ०७:५० बजे

काठमाडौं : काठमाडौंको सुन्धारास्थित धरहरामा सोमबार बेलुकी प्रहरीले दीप प्रज्वलन गरेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागअन्तर्गत इन्टरपोल शाखा, नक्सालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

भोटेकोशी बाढी आएको १३औँ दिन तथा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी ज्यान गुमाएका नेपाली तथा कर्तव्य पालनाका क्रममा दिवंगत भएका नेपाल प्रहरीलगायत सुरक्षाकर्मीको स्मृतिमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको प्रहरीले जनाएको छ। कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले अन्तर्राष्ट्रिय प्रहरी सहकार्यको व्यावहारिक पक्ष र यसको महत्त्व समेटिएको सत्य घटनामा आधारित वृत्तचित्रको शुभारम्भ गरे। विभिन्न देशका प्रहरीबीचको सहकार्य, सूचना आदानप्रदान तथा समन्वयले अपराध अनुसन्धानमा पुर्‍याउने योगदानलाई वृत्तचित्रमा प्रस्तुत गरिएको छ।

हरेक वर्ष सेप्टेम्बर ७ मा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२२ मा यो दिवस घोषणा गरेको थियो। विभिन्न देशका प्रहरीबीच सहकार्य, सूचना आदानप्रदान र समन्वयलाई सुदृढ गर्दै अन्तरदेशीय अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा योगदान पुर्‍याउनु दिवसको मुख्य उद्देश्य रहेको नेपाल प्रहरीले जनाएको छ। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत, सञ्चारकर्मीलगायत आमन्त्रित व्यक्तिहरूको उपस्थिति थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७