गोरखाको नाम्रुङ खोलामा बाढी, पुलसहित तीन घर बगायो
काठमाडौं : गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङमा नाम्रुङ खोलामा आएको बाढीले तीन वटा घर बगाएको छ। गएराति करिब साढे ३ बजे भारी वर्षापछि आएको बाढीले स्थानीय नगु छिरिङ, उर्गीन लामा र लाक्पाभुटी लामाको घर बगाएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए।
बाढीका कारण नाम्रुङस्थित फलामको पुलमा समेत क्षति पुगेको गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए। बाढीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। अहिले वर्षा रोकिएसँगै नाम्रुङ खोलाको बहाव पनि घट्दै गएको डीएसपी श्रेष्ठले जानकारी दिए।
बाढीको जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले नदी तथा खोला तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
.gif)

.png)

