पोखरामा पहिचान नभएका शवका आफन्तको डिएनए संकलन
पोखरा : रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा फेला परेका शवको पहिचानका लागि आफन्तको डिएनए नमुना संकलन सुरु गरिएको छ।
जिल्ला प्रहरी कार्यालयबाटै डिएनएका लागि आवश्यक निवेदन तथा मञ्जुरीनामा फाराम भर्ने र रगतको नमुना संकलन गर्ने व्यवस्था मिलाइएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। यसअघि आफन्तको डिएनए नमुना संकलनको सेवा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सञ्चालन हुँदै आएको थियो।
नमुना संकलन प्रक्रियालाई सहज र सरल बनाउन प्रहरी कार्यालयबाटै एकीकृत सेवा सुरु गरिएको पासवानले बताए। भोटेकोशी बाढीमा परी मृत्यु भएका ७६ जनाको शव भदौ १६ गते पोखरा महानगरपालिका–१६ लामाचौरस्थित वन क्षेत्रमा जमिनमुनि व्यवस्थापन गरिएको थियो। शवबाट यसअघि नै डिएनए नमुना संकलन गरी राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ।
शवको डिएनए आफन्तको नमुनासँग मेल खाएपछि पुनः पहिचान गरी सम्बन्धित परिवारलाई शव बुझाउन सकिनेगरी व्यवस्थापन गरिएको पासवानले बताए। बाढीपछि त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्ने तथा परीक्षण गर्ने स्थान अभाव भएपछि पोखरा ल्याइएको थियो। नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको थियो।
तीमध्ये पहिचान हुन नसकेका ७६ शवलाई जमिनमुनि व्यवस्थापन गरिएको र अन्य शवको पहिचानपछि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।
.gif)

.png)

