पुटिनसँग ट्रम्पका दूतको गम्भीर वार्ता, आज जेलेन्स्कीसँग भेट्दै


२०८३ भदौ २१ आइतबार ०८:२५ बजे

काठमाडौं : रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कफ र जेरेड कुशनरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा भेटवार्ता गरेका छन्।

सेप्टेम्बर ५ मा मस्को पुगेका विट्कफ र कुशनरले क्रेमलिनमा पुटिनसँग युद्ध अन्त्य तथा शान्ति प्रक्रियाबारे गम्भीर छलफल गरेका हुन्। उनीहरू आइतबार युक्रेनको राजधानी किभ पुगेर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने तयारीमा छन्। अमेरिकी दूतहरूको भ्रमणलाई ध्यानमा राख्दै रुसले किभमा तीन दिनका लागि हवाई आक्रमण रोक्ने निर्णय गरेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पुष्टि गरेका छन्।

उनका अनुसार पुटिनले आक्रमण रोक्न आदेश दिएका हुन्। त्यसको जवाफमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि युक्रेनले मस्कोमाथि हवाई वा ड्रोन आक्रमण नगर्ने प्रतिबद्धता जनाएको बताइएको छ। राष्ट्रपति ट्रम्पले आफ्ना विशेष दूतमार्फत युद्ध अन्त्यका लागि ठोस प्रस्ताव र अवधारणा मस्को पठाइएको बताएका छन्। पुटिनका वैदेशिक मामिला सल्लाहकार युरी उसाकोभले पनि अमेरिकी टोली गम्भीर तयारीका साथ मस्को आएको र शान्ति प्रक्रियाका लागि नयाँ विचार प्रस्तुत गरेको बताएका छन्।

ट्रम्प पुनः अमेरिकी राष्ट्रपतिको जिम्मेवारीमा आएपछि विट्कफ र कुशनरको यो पहिलो युक्रेन भ्रमण हुनेछ। उनीहरूले किभमा जेलेन्स्कीसँग भेट गरी पुटिनसँग भएको छलफल र अमेरिकी प्रस्तावबारे जानकारी गराउने अपेक्षा गरिएको छ। यद्यपि शान्ति वार्ता अघि बढाउने प्रयास भइरहे पनि भूभागको स्वामित्व, युक्रेनको सुरक्षा ग्यारेन्टी र नेटो सदस्यता लगायतका विषयमा रुस र युक्रेनबीच गहिरो मतभेद कायमै छ। विशेषगरी डोनबास र क्रिमियाको भविष्यलाई लिएर दुवै पक्षको धारणा फरक छ।

युक्रेनले आफ्नो भूभाग त्यागेर वा राष्ट्रिय सम्प्रभुतामा सम्झौता गरेर शान्ति कायम गर्न नसकिने अडान दोहोर्‍याउँदै आएको छ। अमेरिकी विशेष दूतहरूको मस्कोपछि किभ भ्रमणले लामो समयदेखि अवरुद्ध रुस–युक्रेन शान्ति संवादलाई पुनः सक्रिय बनाउने प्रयासका रूपमा हेरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७