चीनतर्फ मृतकको संख्या २१ पुग्यो, ५४१ अझै बेपत्ता


२०८३ भदौ १८ बिहीबार १४:०५ बजे
Photo: China Daily

काठमाडौं : चीन–नेपाल सीमा क्षेत्रको केरुङ नाकामा लेदोसहितको भीषण पहिरो र बाढीमा परी चीनतर्फ मृत्यु हुनेको संख्या २१ पुगेको छ। चिनियाँ अधिकारीका अनुसार विपद्मा परी ५४१ जना अझै बेपत्ता छन्। मुख्य विपद् क्षेत्रसम्म पुग्ने सडक खुलेसँगै उद्धार टोलीले खोजीलाई थप तीव्र बनाएको छ।

सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रका अध्यक्ष कर्मा छिरिङले जिरोङमा आयोजित पत्रकार सम्मेलनमा उद्धार तथा खोजीका लागि २ हजार ३०० भन्दा बढी उद्धारकर्मी परिचालन गरिएको जानकारी दिए। गत भदौ १० मा नेपालतर्फबाट सुरु भएको लेदोसहितको बाढी केरुङसम्म पुगेपछि ठूलो जनधनको क्षति भएको थियो। पहिरोले सडक, विद्युत् र सञ्चार संरचनामा क्षति पुर्‍याएपछि मुख्य प्रभावित क्षेत्र केही समय सम्पर्कविहीन बनेको थियो।
नाकातर्फ जाने राष्ट्रिय राजमार्ग जी२१६ को अवरुद्ध खण्ड पुनः सञ्चालनमा आएपछि उद्धार अभियानले गति लिएको छ। ठूला मेसिनरी उपकरण घटनास्थलमा पुर्‍याएर बाक्लो लेदो र भग्नावशेष हटाउँदै पुरिएका मानिसको खोजी भइरहेको छ। कर्मा छिरिङका अनुसार उद्धारमा ४०० भन्दा बढी सवारीसाधन र ८ हजारभन्दा बढी उपकरण परिचालन गरिएको छ। ड्रोनले करिब ८०० पटक उडान भरेका छन्। हवाई मार्गबाट ५.४३ मेट्रिक टन खाद्यान्न तथा उद्धार सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको छ।
सिजाङ क्षेत्रीय सरकारका कार्यकारी उपाध्यक्ष रेन वेईका अनुसार प्रभावित क्षेत्रमा लेदोको तह औसत चार मिटर र केही स्थानमा १६ मिटरसम्म गहिरो छ। ठूला चट्टान र बाक्लो हिलोका कारण भग्नावशेषमुनि के छ भन्ने पत्ता लगाउन कठिन भइरहेको छ। त्यसैले उद्धार टोलीले सतहमा मात्रै नभई गहिरो खनेर समेत खोजी सुरु गरेको छ।
उद्धार टोलीले प्रभावित क्षेत्रलाई विभिन्न खण्डमा विभाजन गरेर खोजी गरिरहेको छ। पार्किङ स्थल, संयुक्त निरीक्षण भवन तथा मानिसहरू बसोबास गर्ने भवनलाई प्राथमिकतामा राखिएको छ। ठूला भग्नावशेष हटाउन एक्स्काभेटर प्रयोग भइरहेका छन् भने विशेष टोलीले लाइफ डिटेक्टर प्रयोग गरेर मानिस जीवित रहेको सम्भावित स्थानमा लक्षित खोजी गरिरहेका छन्। पुरिएका भवन, नदी किनार, खोल्सा तथा क्षतिग्रस्त सडक खण्डमा तालिमप्राप्त कुकुर र आधुनिक उपकरणबाट समेत खोजी भइरहेको छ।
उद्धार टोलीले हालसम्म करिब १५ लाख ९० हजार वर्गमिटर क्षेत्रफलमा दोहोर्‍याएर खोजी गरिसकेको जनाएको छ। ग्यिरोङ नाकाबाट करिब १.५ किलोमिटर टाढा अग्रिम कमाण्ड पोस्ट स्थापना गरी विभिन्न टोलीबीच समन्वय बढाइएको छ। यसैबीच प्रभावित क्षेत्रमा १२ वटा मोबाइल बेस स्टेसन पुनः सञ्चालनमा ल्याइएको छ। विद्युत् तथा लाइटिङ उपकरण जडान गरेर सञ्चार र रातिको खोजीलाई सहज बनाइएको छ।
उद्धार अभियानका बीच मौसम र भौगोलिक अवस्थाले भने चुनौती थपिरहेको छ। कुहिरो, वर्षा र तीव्र हावाका कारण ड्रोन उडान तथा हवाई आपूर्ति प्रभावित हुने गरेको छ। पहिरोका कारण भूभाग नै परिवर्तन भएकाले बेपत्ता व्यक्तिको अवस्था पत्ता लगाउन थप कठिन भएको अधिकारीहरूले बताएका छन्। चीन मौसम विज्ञान प्रशासनका अनुसार ग्यिरोङमा आगामी तीन दिनसम्म थप वर्षा हुने पूर्वानुमान छ। यसले प्रभावित क्षेत्रमा पुनः पहिरो तथा अन्य विपद्को जोखिम कायमै रहेको देखाएको छ।
चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयका अनुसार ३९ सदस्यीय तीनवटा राष्ट्रिय आपत्कालीन उद्धार टोलीले संयुक्त अनुगमन समूह बनाएर काम गरिरहेका छन्। टोलीहरूले पहिरो प्रभावित क्षेत्र, थुनिएका ताल तथा अस्थिर भिरको १२० घण्टाभन्दा बढी समयदेखि निगरानी गरिरहेका छन्।
यस क्रममा २ हजार ७०० भन्दा बढी तथ्यांक संकलन गरिएको छ।

वरपरका पहाड, खोल्सा र लेदो जमेको क्षेत्रमा रकफल रडार तथा स्लोप रडारमार्फत चौबीसै घण्टा निगरानी भइरहेको छ। मौसम अधिकारीहरूले प्रत्येक छ घण्टामा विस्तृत मौसम पूर्वानुमान उपलब्ध गराइरहेका छन्। उद्धारकर्तालाई भने सुरक्षालाई पहिलो प्राथमिकता दिएर काम गर्न निर्देशन दिइएको छ। जोखिमको संकेत देखिए तत्काल सुरक्षित स्थानमा फर्किने व्यवस्था मिलाइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७