त्रिशूली क्षेत्र पुगे बलिउड अभिनेता सोनु सुद : पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता
काठमाडौं : बलिउड अभिनेता तथा समाजसेवी सोनु सुद बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोटको त्रिशूली पुगेका छन्। भारतबाट राहत सामग्रीसहित आएको टोली लिएर बुधबार त्रिशूली बजार पुगेका सुदले बाढीबाट क्षतिग्रस्त क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। उनले त्रिशूली नदी किनारका प्रभावित स्थानीयसँग भेटेर उनीहरूको अवस्था र समस्या बुझे। बाढीले भत्काएका घर, विस्थापित परिवार तथा नदी आसपासको क्षति प्रत्यक्ष देखेपछि सुदले सामाजिक सञ्जालमार्फत नेपालप्रति आफ्नो ऐक्यबद्धता जनाएका छन्।
.jpg)
त्रिशूली नदी किनारबाट तस्बिर सार्वजनिक गर्दै उनले बाढीले अकल्पनीय क्षति पुर्याएको उल्लेख गरेका छन्। ‘आज यहाँ त्रिशूली नदी किनारमा उभिँदा बाढीले छाडेर गएको अकल्पनीय क्षति देखिरहेको छु । भत्किएका घरहरू, उजाडिएका परिवारहरू र सधैँका लागि बदलिएका जीवनहरू । नेपाल एक्लो छैन । म नेपाली जनताको साथमा छु,’ उनले भनेका छन्। सुदले तत्काल राहत वितरणसँगै बाढीपीडित परिवारका घर पुनर्निर्माण र उनीहरूलाई नयाँ जीवन सुरु गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। त्यसका लागि उनले आफ्नो सुद च्यारिटी फाउन्डेसनमार्फत आगामी दिनमा समेत सहयोग जारी राख्ने बताएका छन्।
यसअघि नेपाल आउँदा सुदले भारतबाट कम्बल, खाद्यान्नलगायत राहत सामग्री ल्याएको बताएका थिए। तत्कालीन राहतमा मात्र सीमित नभई आगामी महिनाहरूमा समेत प्रभावित परिवारलाई सहयोग गर्ने उनको भनाइ थियो। भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै सुदले राहत शिविरमा रहेका परिवारको अवस्था निकै पीडादायी रहेको बताएका छन्। खाद्यान्न, स्वास्थ्य सहायता र आश्रयको व्यवस्थाका लागि आफ्नो टोलीले काम गरिरहेको उनले बताएका छन्। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट नुवाकोटको त्रिशूली बजारसहित नदी आसपासका बस्तीमा ठूलो क्षति पुगेको छ। बाढीले दर्जनौँ घर तथा पुलमा क्षति पुर्याएको छ।
.jpg)
.gif)

.png)

