विदुरका बाढीपीडितलाई छ महिनासम्म घरभाडा, ९७० परिवारको खातामा रकम
काठमाडौं : भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको छ ।
संघीय सरकारले सुरक्षित स्थानमा घरभाडामा बस्नका लागि आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेअनुसार नगरपालिकाका ९७० परिवारको बैंक खातामा रकम पठाउन थालिएको हो ।
बाढीबाट प्रभावित भई लाभग्राही सूचीमा समावेश भएका र घरभाडामा बस्दै आएका परिवारलाई रकम उपलब्ध गराउन थालिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।
सुरुमा वडा नम्बर १० वेत्रावतीसहित आसपासका क्षेत्रका प्रभावितलाई रकम वितरण गरिएको उनले बताए । अहिले प्रभावित सबै वडामा रकम पठाउने प्रक्रिया अघि बढेको छ ।
‘लाभग्राही कायम भएका वडा नं १० वेत्रावतीसहित आसपासका बासिन्दालाई रकम उपलब्ध गराउन सुरु गरिएकामा अहिले प्रभावित सबै वडामा पुगेका छौँ,’ नगरप्रमुख श्रेष्ठले भने, ‘विवरण अद्यावधिक गर्ने क्रम जारी रहेकाले लाभग्राही कायम भएका सबैलाई जतिसक्दो चाँडो रकम उपलब्ध गराउने प्रयास भइरहेको छ ।’
विदुर नगर कार्यपालिकाको भदौ २० गते बसेको १३४औँ बैठकले बाढी प्रभावित परिवार आश्रयस्थल छाडेर घरभाडामा बस्न चाहेमा मासिक १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।
त्यसपछि संघीय सरकारले पनि बाढी प्रभावित परिवारलाई सुरक्षित स्थानमा घरभाडामा बस्न आग्रह गर्दै छ महिनासम्म घरभाडा उपलब्ध गराउने घोषणा गरेको थियो ।
संघीय सरकारको घोषणाअनुसार दोहोरो भुक्तानी नहुने गरी नगरपालिकाले घरभाडाबापतको रकम वितरण थालेको हो ।
नगरपालिकाले सामाजिक संघसंस्थासँगको सहकार्यमा घरभाडामा बस्दा आवश्यक पर्ने बन्दोबस्तीका सामग्री, लत्ताकपडा, भाँडाकुँडा तथा सरसफाइका सामग्री यसअघि नै राहतस्वरूप उपलब्ध गराउँदै आएको छ ।
लाभग्राही पहिचानका लागि आवश्यक विवरण संकलन र प्रमाणीकरण गर्न समय लागेकाले घरभाडा रकम वितरणमा ढिलाइ भएको नगर उपप्रमुख प्रभा बोगटीले बताइन् ।
उनका अनुसार विदुर नगरपालिकामा बाढी प्रभावित एक हजार ७८६ परिवार लाभग्राही कायम भएका छन् । केही परिवार छुटेको गुनासो आइरहेकाले लाभग्राहीको संख्या थपघट हुन सक्ने उनले जानकारी दिइन् ।
सरकारले बाढी प्रभावित परिवारलाई कम्तीमा छ महिनासम्म मासिक घरभाडा उपलब्ध गराउने व्यवस्था गरेको छ ।
चार जनासम्म सदस्य भएको परिवारलाई प्रतिमहिना १५ हजार रुपैयाँ र चार जनाभन्दा बढी सदस्य भएको परिवारमा प्रत्येक थप सदस्यका लागि प्रतिमहिना दुई हजार रुपैयाँका दरले थप रकम उपलब्ध गराइनेछ ।
बाढी प्रभावित नुवाकोटकै बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा पनि घरभाडाबापतको रकम वितरणका लागि लाभग्राही पहिचानको काम अन्तिम चरणमा पुगेको छ । ती स्थानीय तहले लाभग्राही यकिन भएपछि रकम वितरण सुरु गर्ने जनाएका छन् ।
.gif)

.png)




