जल तथा मौसमसम्बन्धी तथ्याङ्कमा ‘अपारदर्शिता’ आरोपप्रति चिनियाँ दूतावासको आपत्ति
हामी नियमित सूचना पठाइरहेका छौँ : चिनियाँ दूतावास
काठमाडौं : जल तथा मौसमसम्बन्धी तथ्याङ्कमा चीनले ‘अपारदर्शिता देखाएको’ भन्दै नेपाली सञ्चारमाध्यम तथा अनलाइन प्लेटफर्ममा आएका टिप्पणीप्रति नेपालस्थित चिनियाँ दूतावासले आपत्ति जनाएको छ। दूतावासका प्रवक्ताले विज्ञप्तिमार्फत चीनले जल तथा मौसमसम्बन्धी तथ्याङ्कमा अपारदर्शिता देखाएको भन्ने आरोप तथ्यसँग पूर्ण रूपमा मेल नखाने दाबी गरेका छन्।
दूतावासका अनुसार अगस्ट २६, २०२६ मा चीन–नेपाल केरुङ/रसुवा नाकामा गएको विनाशकारी लेदोसहितको पहिरोपछि प्रभावित जलाधार क्षेत्रमा रहेका अनुगमन केन्द्रहरूमा क्षति पुगेको, यातायात अवरुद्ध भएको र सञ्चार संकेतमा अस्थिरता आएको थियो। यस्ता कठिनाइका बाबजुद चीनले तथ्याङ्क प्रसारणका माध्यम पुनः सञ्चालन गर्न हरसम्भव प्रयास गरेको जनाएको छ।
चीनले नेपालको जल तथा मौसम विज्ञान विभागलाई प्रभावित जलाधार क्षेत्रका मुख्य जल तथा मौसमसम्बन्धी तथ्याङ्क दैनिक रूपमा निरन्तर उपलब्ध गराइरहेको तथा अन्य नेपाली निकायसँग पनि समयमै जलवैज्ञानिक सूचना आदानप्रदान गरिरहेको दूतावासको भनाइ छ।
जल तथा मौसमसम्बन्धी तथ्याङ्कमा चीनले ‘अपारदर्शिता’ अपनाएको आरोपले नेपाल–चीनबीचको विपद् राहत तथा सहयोगमा बाधा पुर्याउने उद्देश्य राखेको दूतावासका प्रवक्ताले दाबी गरेका छन्। चीनले मानवीय भावनालाई प्राथमिकता दिँदै नेपालको विपद् प्रतिकार्यसम्बन्धी निर्णय प्रक्रियामा पूर्ण सहयोग गर्दै आएको र दुवै देशका जनताको जीवन तथा सम्पत्तिको सुरक्षाका लागि ठोस कदम चाल्दै आएको दूतावासले जनाएको छ।
नेपाललाई विपद्को कठिनाइ पार गर्न तथा पुनर्निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि चीनले दोहोर्याएको छ।
नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ताको वक्तव्य :
जल तथा मौसमसम्बन्धी तथ्याङ्कमा चीनले 'अपारदर्शिता देखाएको' भन्दै हालै नेपाली सञ्चारमाध्यम र अनलाइन प्ल्याटफर्महरूमा आएका टिप्पणीहरूको सम्बन्धमा नेपालस्थित जनवादी गणतन्त्र चीनको दूतावासले निम्न कुराहरूमा जोड दिन्छ:
अगस्ट २६, २०२६ मा चीन-नेपाल केरुङ/रसुवा नाकामा गएको विनाशकारी लेदोसहितको पहिरोपछि, प्रभावित जलाधार क्षेत्रमा अनुगमन केन्द्रहरूमा क्षति पुगेको, यातायात अवरुद्ध भएको र सिग्नलमा अस्थितरता आएजस्ता कठिनाइहरूका बाबजुद चीनले डाटा ट्रान्समिसन च्यानलहरू पुन: सञ्चालनमा ल्याउन हरसम्भव प्रयास गरेको छ। चीनले नेपालको जल तथा मौसम विज्ञान विभागलाई प्रभावित जलाधार क्षेत्रको मुख्य जल तथा मौसमसम्बन्धी तथ्याङ्क दैनिक रूपमा निरन्तर उपलब्ध गराइरहेको छ र अन्य नेपाली निकायहरूसँग पनि समयमै जलवैज्ञानिक जानकारी साझा गरिरहेको छ।
चीनको 'जल तथा मौसमसम्बन्धी तथ्याङ्कमा अपारदर्शिता' रहेको भन्ने आरोपहरू तथ्यसँग पूर्ण रूपमा अमिल्दा छन् र यसको उद्देश्य नेपाल-चीन विपद् राहत सहयोगमा बाधा पुर्याउनु हो। चीनले सधैँ मानवतावादी मर्मलाई आत्मसात् गर्दै नेपालको विपद् प्रतिकार्यसम्बन्धी निर्णय प्रक्रियामा पूर्ण सहयोग पुर्याएको छ र हाम्रा दुवै देशका जनताको धनजनको रक्षाका लागि ठोस कदम चालेको छ। चीनले नेपाललाई कठिनाइहरू पार गर्न र घरहरू पुन:निर्माण गर्न लगातार सहयोग गरिरहनेछ।
.gif)

.png)

