३१५ विदेशी पर्यटकको उद्धार, ५८३ अझै सम्पर्कविहीन
काठमाडौं : रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रबाट ३१५ जना विदेशी नागरिक तथा पर्यटकको उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डको सोमबार बेलुकी ६ बजेसम्मको ‘सिचुएसन अपडेट–११’ अनुसार उद्धार गरिएकामध्ये भारतका १८७ र चीनका १०८ जना छन्। यस्तै जर्मनी, माल्टा, इटाली, रुस, टर्की, अमेरिका लगायत विभिन्न देशका नागरिकको समेत उद्धार गरिएको बोर्डले जनाएको छ।
बाढी प्रभावित विदेशी नागरिकको खोज तथा उद्धार र सुरक्षित स्थानान्तरणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड, पर्यटक प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सुरक्षा निकाय र स्थानीय प्रशासनबीच समन्वय भइरहेको छ। बोर्डका अनुसार थप पाँच जना विदेशी नागरिक सम्पर्कमा आएका छन्। उनीहरूमा तीन स्पेनिस, एक अमेरिकी र एक बेल्जियन नागरिक छन्।
यद्यपि, ५८३ जना विदेशी नागरिक तथा पर्यटक अझै सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ। उनीहरूको अवस्था पत्ता लगाउन खोजी तथा उद्धार र सुरक्षित स्थानान्तरणको काम जारी छ। पर्यटन बोर्डले मनसुनको प्रभाव सेप्टेम्बरको मध्यसम्म रहने भएकाले पर्यटकलाई यात्रा गर्नुअघि सडक तथा मौसमको पछिल्लो अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ।
बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको बोर्डले जनाएको छ। विशेषगरी रसुवा, नुवाकोट, धादिङ र गोरखातर्फ यात्रा गर्दा मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न बोर्डले आग्रह गरेको छ। भोटेकोशी–त्रिशूली करिडोरबाहेक नेपालका अन्य पर्यटकीय गन्तव्य तथा पर्यटन गतिविधि भने सामान्य रूपमा सञ्चालनमा रहेको बोर्डले जनाएको छ।
.gif)

.png)

