अमेरिकामाथि क्यानडाको जवाफी प्रहार, २० अर्ब डलरका सामानमा ५० प्रतिशतसम्म कर
अमेरिका र क्यानडाबीचको व्यापार तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्यानडाबाट आयात हुने करिब २० अर्ब अमेरिकी डलर बराबरका सामानमा ५० प्रतिशतसम्म अतिरिक्त महसुल लगाएपछि क्यानडाले पनि अमेरिकी उत्पादनमाथि ‘डलरको बदला डलर’ आधारमा जवाफी कर लगाउने घोषणा गरेको छ।
क्यानडाले अमेरिकाबाट आयात हुने करिब २७.६ अर्ब क्यानेडियन डलर (झन्डै २० अर्ब अमेरिकी डलर) बराबरका सामानमा १५, २५ र ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने भएको हो। नयाँ शुल्क सेप्टेम्बर ८ देखि लागू हुनेछ। करिब ७०० प्रकारका अमेरिकी उत्पादन यसबाट प्रभावित हुनेछन्। क्यानडाको नयाँ सूचीमा स्टिल, दुग्धजन्य पदार्थ, विद्युतीय सामग्री, घरायसी उपकरण, कृषि उपकरण, फर्निचर, कपडा तथा अन्य उपभोग्य वस्तु समेटिएका छन्। केही वस्तुमा ५० प्रतिशतसम्म र अन्यमा १५ वा २५ प्रतिशत शुल्क लगाइनेछ।
दुई देशबीचको व्यापार वार्ता असफल भएपछि अमेरिकाले गत शनिबारदेखि क्यानडाका विभिन्न उत्पादनमा ५० प्रतिशतसम्म नयाँ महसुल लागू गरेको थियो। त्यसको प्रतिउत्तरमा क्यानडाले पनि अमेरिकी सामानमा समान मूल्यको जवाफी महसुल लगाउने निर्णय गरेको हो।क्यानडाको कदमसँगै उत्तर अमेरिकाका दुई प्रमुख व्यापार साझेदारबीचको व्यापार युद्ध थप गहिरिने जोखिम बढेको छ।
दुवै देशबीचको आपूर्ति शृङ्खला निकै एकीकृत रहेकाले नयाँ शुल्कले उद्योग, व्यवसाय तथा उपभोक्तामाथि लागतको दबाब बढाउन सक्ने विश्लेषण गरिएको छ। क्यानडा सरकारले अमेरिकी महसुलबाट प्रभावित आफ्ना व्यवसाय र श्रमिकलाई सहयोग गर्न ७.५ अर्ब क्यानेडियन डलरको सहायता प्याकेज समेत घोषणा गरेको छ।
- एजेन्सी
.gif)

.png)

