१८ करोड ४३ लाख ऋणको भारी बोकेर भावुक हुँदै अमेरिका फर्किए धुर्मुस
आफ्नै देशमा न्याय खोज्दा आवाज बेवारिसे भयो : धुर्मुस
काठमाडौं : कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको नेपाल बसाइपछि अमेरिका फर्किएका छन्। चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासँग जोडिएको ऋण तथा समस्या समाधानका लागि राज्यका विभिन्न निकायमा पहल गरे पनि अपेक्षित परिणाम नआएको भन्दै उनी अमेरिका फर्किएका हुन्।
धुर्मुसले सामाजिक सञ्जालमार्फत आफ्नो नेपाल बसाइका क्रममा रंगशालाको समस्या समाधानका लागि निरन्तर प्रयास गरेको बताएका छन्। उनका अनुसार समस्या समाधानका लागि राज्यका विभिन्न निकायमा पुगे पनि आफूले न्यायको अनुभूति गर्न सकेनन्। उनले रंगशालाका लागि विनियोजित १५ करोड रुपैयाँसमेत भरतपुर महानगरपालिकाबाट फ्रिज हुने अवस्था आएको बताएका छन्।
समस्या समाधान नभएपछि आफूले १८ करोड ४३ लाख रुपैयाँको ऋण, अधुरा सपना र पीडा बोकेर मातृभूमि छाड्नुपरेको उनको भनाइ छ। ‘यो पटक त शतप्रतिशत न्याय पाउनेछौँ’ भन्ने आशाका साथ छोरीसहित नेपाल फर्किएको उल्लेख गर्दै धुर्मुसले दुई महिनासम्म निरन्तर प्रयास गर्दा पनि समस्या समाधान हुन नसकेको बताएका छन्।
उनले आफ्नै देशमा न्याय खोज्दा आफ्नो आवाज बेवास्तामा परेको अनुभूति भएको बताएका छन्। समाज र राष्ट्रका लागि आफ्नो जीवनको करिब १० वर्ष समर्पण गरे पनि राज्यबाट अपेक्षित सहयोग नपाएको भन्दै उनले कटाक्षसमेत गरेका छन्। यद्यपि, धुर्मुसले भविष्यप्रतिको आशा भने नछाडेको बताएका छन्। कुनै दिन राज्यले आफ्नो समस्या बुझ्ने र समयले सत्य बाहिर ल्याउने विश्वास व्यक्त गर्दै उनले आफ्नो पीडा सुनिने तथा संघर्षको मूल्यांकन हुने दिनको प्रतीक्षा गर्ने बताएका छन्।
रंगशाला निर्माणका क्रममा आर्थिक दायित्व बढ्दै गएपछि धुर्मुस–सुन्तली फाउन्डेसनले समस्या समाधानका लागि सरकारसँग पटक–पटक सहयोगको आग्रह गर्दै आएको छ। पछिल्लो समय सरकारले रंगशालासँग सम्बन्धित दायित्व व्यवस्थापनका लागि बजेट विनियोजन गरे पनि आफू ऋणमुक्त हुन नसकेको धुर्मुसको भनाइ छ।
अमेरिका फर्किँदै गर्दा उनले आफू नेपालबाट टाढा भए पनि आफ्नो देश र यहाँका शुभेच्छुकप्रतिको माया तथा आशा जीवित रहेको बताएका छन्।
.gif)

.png)

