चितवनमा भेटिएका २७२ शवमध्ये १९९ को व्यवस्थापन, १२ जनाको सनाखत
चितवन : रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा फेला परेका सनाखत हुन नसकेका १९९ शवको व्यवस्थापन गरिएको छ। भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गलमा आइतबार रातिसम्म ती शवको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म चितवनमा २७२ शव फेला परेका छन्। तीमध्ये १९९ शवको व्यवस्थापन गरिएको छ भने १२ शवको सनाखत भएको छ। सनाखत हुन नसकेका शवबाट डीएनए नमुना सुरक्षित राखेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। सनाखत भएका शवको पोस्टमार्टमपछि परिवारजनलाई बुझाइएको छ।
बेपत्ता व्यक्तिका परिवारसँग भविष्यमा डीएनए परीक्षण मिलेको अवस्थामा शव पहिचान गरी बुझाउन सकिने गरी व्यवस्थापनस्थलमा सङ्केत चिह्नसमेत राखिएको प्रहरी प्रमुख पौडेलले बताए। चितवनमा फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका तथा ८७ वटा मानव अवशेष रहेका छन्।
त्रिशूली र नारायणी नदीका किनारमा थप शव फेला पर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ। शवको खोजी तथा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको छ।
.gif)

.png)

