त्रिशूलीको कटानले कृष्णभीरमा जोखिम, तत्काल यातायात सञ्चालन कठिन
काठमाडौं : नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा ठूलो पहिरो गएको छ। आइतबार बिहान आएको बाढीका कारण त्रिशूली नदीले सडक छेउको करिब एक किलोमिटर क्षेत्र कटान गरेको हो।
सडक डिभिजन भरतपुरका अनुसार नाम्सी खोलाको पुलबाट करिब एक किलोमिटर नारायणगढतर्फ पर्ने चेनिज ३१+०५० क्षेत्रमा त्रिशूली नदीले सडकको छेउतर्फको भाग कटान गरेको हो। नदीको तीव्र बहावका कारण सडकको ठूलो भाग जोखिममा परेपछि उक्त सडकखण्डमा यात्रा गर्ने सवारी चालक तथा यात्रुलाई सतर्कता अपनाउन र सुरक्षित रूपमा यात्रा गर्न सडक डिभिजनले आग्रह गरेको छ।
.jpg)
कटानबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्न सडक डिभिजन भरतपुरका प्रमुखको नेतृत्वमा इन्जिनियरसहितको प्राविधिक टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेपछि सडकमा भएको क्षति र यातायात सञ्चालनको अवस्थाबारे थप विवरण आउने सडक डिभिजनले जनाएको छ।
प्रारम्भिक अवस्थाअनुसार पहिरो तत्काल हटाएर सडक सामान्य अवस्थामा ल्याउन सकिने अवस्था नरहेको प्राविधिक टोलीले जनाएको छ। निरन्तर बाढी र नदीको कटानका कारण सडक थप जोखिममा पर्न सक्ने भएकाले यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
.jpg)
.jpg)
.jpg)
.gif)

.png)

