८५ अमेरिकी नागरिक अझै बेपत्ता


२०८३ भदौ १४ आइतबार २०:४३ बजे

काठमाडौं :  नेपालको हिमाली क्षेत्रमा आएको विनाशकारी बाढीपछि करिब ८५ जना अमेरिकी नागरिक अझै सम्पर्कविहीन रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार बाढी तथा पहिरोका कारण नेपालमा २ हजार ५०० भन्दा बढी व्यक्ति बेपत्ता छन् भने ७८१ जनाको मृत्यु भएको नेपाल सरकारका अधिकारीहरूले पुष्टि गरेका छन्।

गत बुधबार बिहान आएको हिलोसहितको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढीका कारण बस्ती, सडक, पुललगायतका भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले एबीसीको टेलिभिजन कार्यक्रम ‘दिस विक’मा बोल्दै हालसम्म नौ जना अमेरिकी नागरिकको उद्धार गरिएको जानकारी दिए। उनका अनुसार बाढीमा कुनै अमेरिकी नागरिकको मृत्यु भएको जानकारी प्राप्त भएको छैन।

'प्राकृतिक विपत्तिले प्रभावित क्षेत्रको दुर्गम अवस्थाका कारण भरपर्दो जानकारी प्राप्त गर्न कठिन भइरहेको छ। तर हाम्रो समर्पण र प्रतिबद्धता यथावत् छ,' पिगटले भने। अमेरिका र क्यानडाले नेपालमा जारी खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन संयुक्त रूपमा ३६ लाख अमेरिकी डलर सहायता उपलब्ध गराउने जनाएका छन्। त्यस्तै बेलायतले ६८ लाख अमेरिकी डलर सहयोगको घोषणा गरेको छ भने संयुक्त राष्ट्रसङ्घले आपतकालीन कोषबाट २५ लाख अमेरिकी डलर सहायता जारी गरेको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता पिगटका अनुसार अमेरिकी सहयोगको केही हिस्सा क्षतिग्रस्त सडक मर्मत तथा दुर्गम क्षेत्रमा खाद्यान्न र अन्य अत्यावश्यक राहत सामग्री पुर्‍याउन विशेष यातायात व्यवस्था सञ्चालनमा खर्च गरिनेछ।

बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सुरक्षा निकायले खोज तथा उद्धार कार्य जारी राखेका छन्। दुर्गम भूगोल तथा क्षतिग्रस्त यातायात पूर्वाधारका कारण उद्धार तथा राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउन चुनौती भइरहेको अधिकारीहरूले बताएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७