रसुवा बाढी

७८१ शव भेटिए, २ हजार ५०२ बेपत्ता

९ हजार ४३५ जनाको उद्धार


२०८३ भदौ १४ आइतबार २०:०३ बजे

काठमाडौं :  रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी विभिन्न जिल्लामा हालसम्म ७८१ जनाको मृत्यु भएको छ। घटनापछि २ हजार ५०२ जना अझै सम्पर्कविहीन छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार साँझ ६ बजेसम्म विभिन्न जिल्लाबाट ७८१ जनाको शव फेला परेको हो। खोज तथा उद्धार कार्य जारी रहे पनि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन्।

प्राधिकरणको विवरणअनुसार सबैभन्दा बढी चितवनमा २७२ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा १९९, नवलपरासी पश्चिममा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव भेटिएको छ।

२ हजार ५०२ अझै सम्पर्कविहीन

प्राधिकरणका अनुसार सम्पर्कविहीन हुनेमा रसुवाका ५६२, विदेशी नागरिक ५९२, विदेशी पर्यटकसँगै यात्रा गरेका नेपाली १२७, जलविद्युत आयोजनामा कार्यरत १३३, नुवाकोटका ११५ र मकवानपुरका ६५ जना छन्।

यसैगरी नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ४, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ तथा क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ।

९ हजार ४३५ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार ४३५ जनाको उद्धार गरिएको छ। जलविद्युत आयोजनाका सुरुङबाट भदौ १२ गते १९१ र भदौ १३ गते ८८ जना गरी २७९ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। आइतबार मात्रै सुरुङबाट १५ जना चिनियाँ नागरिकको उद्धार गरिएको थियो।

नेपाली सेनाको हेलिकप्टरमार्फत २४४ जना विदेशी र ३ हजार ६७ जना नेपाली गरी ३ हजार ३११ जनाको हवाई उद्धार गरिएको छ। हवाई उद्धारका लागि हालसम्म ३९४ वटा उडान भएका छन्। तीमध्ये आइतबार मात्रै ७२ वटा उडान गरिएको प्राधिकरणले जनाएको छ।

बाढीमा परी हालसम्म २६७ जना घाइते भएका छन्। तीमध्ये १५६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका लागि ६ वटा सर्जिकल मेडिकल टिम परिचालन गरिएको छ।

२० हजार ६१८ सुरक्षाकर्मी परिचालन

खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २० हजार ६१८ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमध्ये नेपाली सेनाका ८ हजार ५२१, नेपाल प्रहरीका ७ हजार ८९४ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रहेका छन्।

पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ। पहिचान नखुलेका शवको विवरण तथा थप जानकारी नेपाल प्रहरीको आधिकारिक वेबसाइट र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आधिकारिक फेसबुक पेजबाट प्राप्त गर्न सकिने जनाइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७