लाङटाङबाट खसेको हिउँको ढिक्का ७ मिनेटमै २२ किमी पार गर्दै आयो विनाशकारी भोटेकोशी बाढी
जलवायु परिवर्तनको जोखिमतर्फ वैज्ञानिक संकेत
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारणबारे चिनियाँ वैज्ञानिकहरूले नयाँ तथ्य सार्वजनिक गरेका छन्। उनीहरूका अनुसार लाङटाङ लिरुङ हिमाल नजिक करिब ५ हजार २ सय मिटर उचाइबाट खसेको ठूलो हिउँको ढिक्का माटो र चट्टान बगाउँदै तल झर्दा भोटेकोशीमा विनाशकारी बाढी आएको हो।
चिनियाँ अध्ययनकर्ताका अनुसार बुधबार बिहान खसेको हिउँको ढिक्काले करिब ७ मिनेटमै २२ किलोमिटर दूरी पार गर्दै नेपाल–चीन सीमास्थित रसुवागढी क्षेत्रसम्म बाढी ल्याएको थियो। करिब १ हजार ८ सय मिटर उचाइमा रहेको रसुवागढी पुग्दासम्म बाढीको गति प्रतिसेकेन्ड करिब ५० मिटर रहेको अध्ययनकर्ताले बताएका छन्।
चिनियाँ समयअनुसार बिहान १०ः५२ बजे तथा नेपाली समयअनुसार ८ः३७ बजे हिउँको ढिक्का खसेको थियो। चिनियाँ एकेडेमी अफ साइन्सेसअन्तर्गतको वातावरण तथा हिमाली जोखिम संस्थानका अनुसन्धानकर्ता से पेन्गचेन्गका अनुसार रिमोट सेन्सिङ तथ्यांक, प्राप्त सूचनाको विश्लेषण तथा स्थलगत सर्वेक्षणबाट यस्तो निष्कर्ष निकालिएको हो।
यसअघि भूकम्पका कारण हिमालबाट हिउँको ढिक्का खसेको हुनसक्ने अनुमान गरिएको थियो। तर पछिल्लो अध्ययनले भने हिउँको ढिक्का उत्तरतर्फ खस्दा उत्पन्न भएको ऊर्जाका कारण भूकम्प गएको हुनसक्ने देखाएको छ। उक्त भूकम्प ५.२ म्याग्निच्युडको रहेको बताइएको छ।
बाढी चीनतर्फको केरुङ क्षेत्रमा समेत फैलिएको थियो। अध्ययनकर्ताका अनुसार केरुङमा बाढी करिब ०.७ वर्ग किलोमिटर क्षेत्रमा फैलिँदा २७ वटा भवनसहित विभिन्न पूर्वाधारमा क्षति पुगेको थियो। हिउँको ढिक्का खसेको स्थाननजिकै अहिले दुईवटा तालसमेत बनेका छन्। चीनको अनुगमन तथ्यांकअनुसार एउटा ‘ब्यारियर लेक’ करिब १ लाख वर्गमिटर क्षेत्रमा फैलिएको छ, जुन करिब १४ वटा फुटबल मैदान बराबरको क्षेत्र हो। उक्त तालभन्दा करिब पाँच किलोमिटर माथि अर्को तालसमेत बनेको अध्ययनकर्ताले बताएका छन्।
जलवायु परिवर्तनको जोखिम
यसैबीच अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले भने घटनालाई जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढिरहेको जोखिमसँग पनि जोडेर हेरेका छन्। विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालमा हिउँ तथा बरफ तीव्र गतिमा पग्लिने, हिमतालको आकार बढ्ने र हिमताल विस्फोट तथा हिमपहिरोका कारण अचानक ठूलो बाढी आउने जोखिम बढिरहेको विज्ञहरूको भनाइ छ।
आईसीआईएमओडीले यसै वर्ष सार्वजनिक गरेको एक अध्ययनमा हिन्द–कुश हिमालय क्षेत्रमा सन् २००० को तुलनामा हिउँ पग्लिने दर उल्लेख्य रूपमा बढेको देखाएको थियो। अमेरिकाको कोलोराडो स्टेट युनिभर्सिटीका भू–विज्ञानका प्राध्यापक डान म्याकग्राथले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमाली क्षेत्रमा हिउँका ढिस्का तीव्र रूपमा पग्लिरहेको बताएका छन्।
साउथ फ्लोरिडा विश्वविद्यालयका भू–विज्ञानका प्राध्यापक जेसन गुलेले पनि नेपालसहित हिमाली क्षेत्रमा पग्लिँदै गरेका हिमालले भविष्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने चेतावनी दिएका छन्। उनले पछिल्ला दशकमा चीन–नेपाल सीमा क्षेत्रका हिमालमा समेत ठूलो परिवर्तन देखिएको बताएका छन्। ब्रिटिस अन्टार्कटिक सर्भेका ग्लासियोलोजिस्ट डा. हमिस प्रितचार्डका अनुसार घटनाभन्दा दुई दिनअघि लाङटाङ क्षेत्रमा जमिनको तापक्रम दुई वर्षयताकै उच्च अवस्थामा थियो। उच्च तापक्रमका कारण हिमालको सतह कमजोर भएर हिउँको ढिक्का खसेको हुनसक्ने उनको अनुमान छ।
बेलायतको डुन्डी विश्वविद्यालयका हिमनदी विशेषज्ञ डा. सिमोन कुकले नेपालसँगै भारत, स्विट्जरल्यान्ड र इटलीमा समेत पछिल्ला वर्षमा हिमपहिरो र त्यसपछि बाढी आउने घटना बढिरहेको बताएका छन्। सन् २०२१ मा भारतको चमोली उपत्यकामा हिमपहिरोपछि आएको बाढीमा करिब २ सय जनाको मृत्यु भएको थियो। वैज्ञानिकहरूले त्यस घटनाको विनाशकारी प्रभावलाई अत्यन्त ठूलो ऊर्जा उत्सर्जनसँग तुलना गरेका थिए।
नेपालमा पनि जोखिमयुक्त हिमताल
अलास्का विश्वविद्यालयका वातावरण विज्ञानका प्राध्यापक इरन हुडका अनुसार उच्च हिमाली क्षेत्रमा पहिरो वा हिमपहिरोले ठूलो परिमाणमा पानी एकैपटक तल ल्याउँदा अचानक आउने बाढीको स्तर र त्यसबाट हुने क्षतिको अनुमान गर्न कठिन हुन्छ। आईसीआईएमओडी र यूएनडीपीको अध्ययनअनुसार नेपाल, भारत र तिब्बतमा गरी ३ हजार ६ सय २४ वटा हिमताल छन्। तीमध्ये ४७ वटा जोखिमयुक्त मानिएका छन्। नेपालमा मात्रै २१ वटा हिमताल जोखिमयुक्त रहेको अध्ययनले देखाएको छ।
वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण हिमाली जोखिम बढ्दै गएकाले जोखिमयुक्त क्षेत्रमा पूर्वाधार निर्माण गर्दा विशेष सावधानी अपनाउन, पूर्वसूचना प्रणाली बलियो बनाउन तथा उद्धारका वैकल्पिक मार्ग र पूर्वतयारीमा लगानी बढाउन सुझाव दिएका छन्। भोटेकोशी बाढीको वास्तविक कारण र यसको प्रभावबारे वैज्ञानिक अध्ययन अझै जारी रहे पनि बढ्दो तापक्रम, हिमाली भूभागको अस्थिरता र अचानक हुने हिमपहिरो तथा बाढीको जोखिमलाई अब गम्भीर रूपमा लिनुपर्ने विज्ञहरूको निष्कर्ष छ।
.gif)

.png)

